राष्ट्रिय स्तरका विकास बैंकको नाफा २७.९६ प्रतिशतले वृद्धि: लुम्बिनी र सांग्रिलाको लोभलाग्दो प्रगति
काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिना (पुस मसान्त) सम्ममा नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेखनीय सुधार देखिएको छ ।
विकास बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ८ वटा प्रमुख विकास बैंकहरूले कुल ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा यी बैंकहरूले २ अर्ब ५८ करोड ७५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए । यो तुलनात्मक तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकहरूको समग्र नाफा २७.९६ प्रतिशत ले बढेको देखिन्छ ।
सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ र गरिमा
तथ्यांक अनुसार परिमाणात्मक आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छ । मुक्तिनाथले पुस मसान्तससम्म ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको ५० करोड ३१ लाख २२ हजारको तुलनामा ३३.५७ प्रतिशतको बढी हो ।
त्यसैगरी, दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गरिमाले गत वर्षको तुलनामा १५.६३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गरिमाले गत वर्षको सोही अवधिमा ४५ करोड ९२ लाख ६६ हजार रुपैयाँ नाफा कामएको थियो ।
नाफा बढाउनेमा लुम्बिनी र सांग्रिलाको फड्को
नाफा वृद्धिको दरलाई हेर्दा लुम्बिनी विकास बैंकले सबैलाई उछिनेको छ । लुम्बिनीले गत वर्षको १४ करोड ७६ लाख १८ हजारको तुलनामा यस वर्ष ९३.३२ प्रतिशत को वृद्धि हासिल गर्दै २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले पनि आक्रामक प्रगति देखाएको छ । सांग्रिलाको नाफा ५३.९५ प्रतिशतले बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भने सांग्रिलाले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।
मध्यम र सुस्त वृद्धिका बैंकहरू
मध्यम स्तरको नाफा कमाउने बैंकहरूमा रेसुङ्गा, कामना सेवा र ज्योति विकास बैंक रहेका छन् । ज्योति विकास बैंकले ३१ करोड १२ लाख ७१ हजार (वृद्धि २४.४४ प्रतिशत), रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करोड ४२ लाख ८० हजार (वृद्धि २२.१९ प्रतिशत) र कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ (वृद्धि २२.३४ प्रतिशत) नाफा कमाएका छन् ।
यस अवधिमा सबैभन्दा कम वृद्धिदर भने महालक्ष्मी विकास बैंकको देखिएको छ । हालक्ष्मीले ६.४१ प्रतिशतको सामान्य वृद्धिसहित ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।














