वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया यथास्थितिमा रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले यो प्रक्रिया अघि नबढाइ यथास्थितिमा रोक्न विहीबार अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतलाई ‘कारण देखाऊ’ आदेश पनि जारी गरेको अदालतले जनाएको छ। मन्त्रालयका सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको थियो । यसका लागि माघ ४ गते १० जनाको नाम संक्षिप्त सूची प्रकाशित गरी अन्तरवार्ता र प्रस्तुतिकरका लागि बोलाएको थियो ।
तर मुलुकमा निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा महाप्रबन्धक नियुक्ति गर्न नमिल्ने दाबी गर्दै चीरञ्जीवी उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही रिटमा सुनुवाई गरेर अदालतले यस्तो आदेश जारी गरेको हो ।
















