वीर शहीदहरूको सम्झनामा आज देशभर शहीद दिवस मनाइँदै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वीर शहीदहरूको सम्झनामा आज देशभर शहीद दिवस मनाइँदै



काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि आफ्नो जीवन आहुति दिने वीर शहीदहरूको सम्झनामा आज देशभर ‘शहीद दिवस’ मनाइँदैछ।

देश र जनताको हितका लागि बलिदान दिने ज्ञात-अज्ञात शहीदहरूप्रति कृतज्ञता प्रकट गर्दै यो दिवस मनाउने गरिएको हो।

तत्कालीन जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा वि.सं. १९९७ मा चार महान् शहीदहरूलाई मृत्युदण्ड दिइएको थियो। शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। तिनै शहीदहरूको बलिदानको प्रेरणाले नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भएको हो।

यही ऐतिहासिक बलिदानको सम्झनामा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउँदै आएको छ। वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते विशेष रूपमा शहीद दिवस मनाउन थालिएको हो।

शहीद दिवसको अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म विशेष प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। उक्त पदयात्रामा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारीहरू, जनप्रतिनिधिहरूका साथै सुरक्षा निकायको ब्याण्ड र मार्चपास टोलीको सहभागिता रहनेछ।

प्रभातफेरी शहीद स्मारक लैनचौर पुगेपछि त्यहाँ आयोजित विशेष समारोहमा ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्