नेपालमा महँगिए पनि वास्तवमा कमजोर बन्दै छ डलर, के हो कारण ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालमा महँगिए पनि वास्तवमा कमजोर बन्दै छ डलर, के हो कारण ?



कामाडौँ । नेपालमा अमेरिकी डलरको विनिमय (सटही) दर इतिहासकै उच्चतम विन्दुमा चलिरहेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले डलरको विक्रीदर १४७ रुपैयाँ ४४ पैसा तोकेको छ । यो हालसम्मकै महँगो मूल्य हो ।

नेपाली रुपैयाँलाई हाम्रो सरकारले भारतीय रुपये (भारु)सँग स्थिर विनिमय अंकुशमा बाँधेका कारण भारु सस्तिँदै जाँदा नेपाली मुद्रा पनि कमजोर भएको हो । भारतमाथि अमेरिकाले लगाएको ५० प्रतिशतको भन्सार शुल्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतविरोधी बारम्बारको धम्कीका कारण लगानीकर्ताहरु त्रसित भएपछि भारु कमजोर भएको हो ।

यसको असर नेपालमा परेको छ । तर, यसको अर्थ अमेरिकी डलर पुरै संसारमा महँगो भएको भने होइन । यति बेला अमेरिकी मुद्रा संसारका कयौँ मुद्राको दाँजोमा अत्यधिक रफ्तारमा सस्तिँदै गएको छ । अहिले सुनको भाउ महँगिनुको एउटा कारण डलरको निरन्तर गिरावट पनि हो ।

गत वर्ष अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनल्ड ट्रम्पले नाटकीय रूपमा विभिन्न ट्यारिफ (आयात शुल्क)हरू घोषणा गरेपछि अमेरिकी डलरको अन्तर्राष्ट्रिय सटही दर खस्किएको देखिएको छ। भलै, मुद्रा व्यापारीहरूले यस वर्ष डलरको मूल्यमा धेरै उतारचढाव नहुने अपेक्षा गरेका थिए।

तर हालैका साताहरूमा देखिएको विनिमयदरको बदलावले उनीहरूको अपेक्षामा ठेस पुगेको छ।

धेरै देशका मुद्राहरूको तुलनामा डलरको सटही दर चार वर्षकै सबैभन्दा कम भएको छ। एक सातामै डलर तीन प्रतिशतले खस्कँदा यूरो र पाउन्डको तुलनामा पनि यसको सटही दर केही वर्षकै न्यून बिन्दुमा पुगेको छ।

संसारमा प्रमुख ६ मुद्राहरु (युरो, जापानी येन, पाउण्ड, क्यानेडियन डलर, स्वीडिश क्रोनर र स्वीस क्र्र्याङ्क)को ‘मुद्रा डालो’को अनुपातमा डलर २०७९ असोजमा निकै महँगो हुन पुगेको थियो ।

त्यस बेला ‘डलर इन्डेक्स’ भनिने सूचकांक ११३ अंकभन्दा माथि पुगेको थियो । त्यसपछि घटेर १०२ अंकसम्म घटेको डलर सूचक पोहोर २०८१ पुसमा फेरी बढेर ११० अंक हाराहारी पुग्यो । तर पोहोर फागुनदेखि भने डलर पुन: कमजोर हुन थाल्यो । अहिले डलर इण्डेक्स ९६ अंक हाराहारी छ । यो भनेको डलर तुलनात्मक रुपमा कमजोर हुनु हो ।

पछिल्लो पाँच वर्षको डलर इन्डेक्स :

डलर खस्कने क्रम अहिले कम देखिए पनि विश्लेषकहरूले त्यो अस्थायी मात्रै भएको बताएका छन्।

‘धेरै मानिसहरूले यो वर्ष डलर अझै कमजोर हुने वा हुनसक्ने ठानेका छन्,’ आईएनजीका अर्थ बजार अनुसन्धान प्रमुख क्रिस टर्नर भन्छन्, ‘समयको मात्र टुङ्गो नलागेको हो, तर त्यो बाटोमा जाने कुरामा चाहिँ खासै द्विविधा छैन।’

कमजोर डलरले अमेरिकीहरूको क्रय शक्ति घटाउने कुरा विदेशमा यात्रा गर्नेहरूलाई पनि राम्रोसँग थाहा छ। यदि यो जारी रहे यसले अमेरिकाभित्र मुद्रास्फीति बढाउने जोखिम रहेको विश्लेषकहरू बताउँछन्। किनभने अमेरिकीहरूले अहिले नै आयातित सामग्रीमा उच्च मूल्य तिर्नु परिरहेको छ।

डलर कमजोर हुँदा यसले अमेरिकालाई सस्तोमा ऋण पाउने सुविधा गुम्न सक्ने र विश्वका कैयौँ देशहरूले सञ्चित मुद्राको रूपमा समेत राख्दै आएको डलरको अन्तर्राष्ट्रिय साख गिर्न सक्ने चिन्ता बढाएको छ।

डलरलाई भएको के हो ?

डलरमा एक दशकसम्मको बलियो वृद्धिमा रोकावट आएको छ। कोभिड महामारी लगत्तै खास गरी सन् २०२० र २०२२ को बीचमा यसको राम्रो वृद्धि र उच्च ब्याजदरले लगानीकर्ताहरूलाई आकर्षित गर्दा यो मुद्राको माग बढेको थियो।

तर गत वर्ष मुद्रा बजारमा डलरको सूचकाङ्क १० प्रतिशतले खस्कियो। यो सन् २०१७ यताकै सबैभन्दा खराब गिरावट थियो। राष्ट्रपतिमा निर्वाचित भएर आएका ट्रम्पले अमेरिकी ‘मुक्ति दिवस’ भन्दै चालेका कदममा विभिन्न आयात शुल्कहरू घोषणा गरेपछिको डलर खस्किएको थियो।

यो महिना पनि ग्रीनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव बढेसँगै अमेरिकी डलरको मूल्य थप खस्किएको छ। पछिल्लो साता पनि यो जारी छ। अमेरिकाले चाल्न सक्ने कुनै कदमले डलरलाई अझ कमजोर बनाउन सक्ने आँकलनले पनि डलरको भाउ सस्तिँदै गएको हो । जापानी मुद्रा ‘येन’लाई माथि उकास्न जापानलाई डलर बेच्ने जस्ता अनुमानले पनि यसमा काम गरेको छ।

डलर किन घट्दै छ ?

विश्लेषकहरूले डलरको गिरावटमा ट्रम्प प्रशासनको नीतिहरूबारे बजारको चासोको सङ्केत पनि कारण भएको बताएका छन्।

‘मेरो विचारमा वृद्धि वा गिरावट दुवै यो प्रशासनले लिएका अनिश्चित नीतिबारे बजारले दिइरहेको प्रतिक्रिया हो,’ ब्रुकिङ्ग्स इन्स्टिट्यूशनका वरिष्ठ फेलो र गोल्डम्यान स्याक्सका पूर्व विदेशी मुद्रा सटही रणनीतिकार रोबिन ब्रुक्स भन्छन्। उनले ट्यारिफ र ग्रीनल्यान्डको विषयसँगै डलर खस्किएको उदाहरण दिँदै यस्तो दाबी गरेका छन्।

डलरको गिरावट ‘खास गरी बजारको प्रतिबिम्ब हो र यस प्रकारको अराजक उतार चढावले अरूलाई भन्दा बढी चोट अमेरिकालाई पुर्‍याउँछ,’ उनले भने।

मक्वरीका विश्वव्यापी विदेशी मुद्रा र ब्याज दर रणनीतिकार थिएरी विज्म्यान भू–राजनीतिक मामिलामा अविचलित देखिएको डलरको मुद्रा बजारमा ग्रीनल्याण्डको विषयले व्यापक असर परेको बताउँछन्।

‘यसले मानिसहरूलाई त्रसित बनाएको जस्तो मलाई लाग्छ,’ उनी भन्छन्। यो महिना डलर मात्र नखस्किएको बताउँदै उनले यस्ता प्रकरणले मुद्रा बजारमा थप उतारचढाव ल्याउने देखाएको पनि बताए।

उनका अनुसार कारणहरू अरू पनि छन्। विदेशमा लगानीका अवसरहरू बढेका छन् र पछिल्ला दिनहरूमा जापानी ऋणपत्र बजारमा बिक्रीका लागि आउँदा पनि असर देखिएको छ।

जापानी ‘बन्ड’को बिक्रीले डलर र जापानी मुद्राबीचको अन्तर कम गर्ने अपेक्षा केही व्यापारीहरूमा जगाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जापानी मुद्रा उकास्न अमेरिकाले सहयोग गरेको कुरा खण्डन गरेपछि यो साता डलर केही स्थिर देखियो।

तर विश्लेषकहरू अमेरिकी राष्ट्रपति ट्रम्पले फेरी के गर्छन् भन्ने अनिश्चित रहेको बताउँछन्।

पैसा कहाँ गइरहेको छ ?

डलरमा देखिएको हलचलले सुनको मूल्य बढाउन सहयोग गरेको छ। लगानीकर्ताहरूले आफ्नो पैसा राख्न कम जोखिमको ठाउँ खोज्दा सुनको भाउ गत वर्षको तुलनामा दोबरले बढेको छ।

एम्स्टर्डम र डेनमार्कमा पेन्सन फन्डले अमेरिकी ट्रेजरीको होल्डिङ कटौती गरेसँगै विश्वव्यापी लगानीकर्ताहरू पनि अमेरिकाविरुद्ध हुन सक्छन्। पहिले डलर कमजोर हुँदा पनि अरू देशका मुद्रा बलियो भएका थिएनन्, तर अहिले भने लगानीकर्ताहरूले डलर छाडेर अरू मुद्रामा पैसा खन्याउन थालेका छन्।

यो महिना डलरको तुलनामा मूल्य बढेका मुद्राहरू युरो र पाउन्ड पनि हुन्। सँगै अक्सफोर्ड इकोनोमिक्सले निगरानी गरेका १९ मध्ये ११ वटा उदयीमान मुद्रा पनि एक प्रतिशतले बढेका (महँगिएका) छन्।

यसबाट विश्वका लगानीकर्ताहरू पनि अमेरिकासँग टाढिँदै गएका हुन सक्ने ठानिएको छ। एम्स्टर्डम र डेन्मार्कका पेन्सन कोषहरूले अमेरिकी ऋणपत्रमा रहेको आफ्नो लगानी घटाइरहेका छन्।

यद्यपि आईएनजीका टर्नर बजार अझै पनि अमेरिकी लगानी बिक्री गर्नुपर्ने भाष्यबाट निकै टाढा रहेको बताउँछन्। उनले अहिले देखिएको गिरावट मुख्यतया डलरमा मात्र सीमित रहेको बताएका छन्।

अमेरिकी शेअर बजार अझै पनि अहिलेसम्मकै उच्च बिन्दु वरिपरि अडिइरहेको उनी सहितका विश्लेषकहरू बताउँछन्। तर पनि आईएनजीले यो वर्ष डलर अर्को चार देखि पाँच प्रतिशतसम्म घट्ने अपेक्षा गरेको छ। अमेरिका बाहिरका मुद्रा महँगिएका कारणले यस्तो अवस्था आउने उक्त संस्थाको अनुमान छ।

ट्रम्प डलर कमजोर बनाउन चाहन्छन् ?

अहिलेका लागि डलरको गिरावट निकै कम रहेका कारण अमेरिकी उपभोक्ताहरूको लागि यसको प्रभाव ‘हल्ला’ मात्रै हुनसक्ने ब्रुक्स बताउँछन्। तर अमेरिकी अर्थतन्त्रको प्रदर्शन र अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने तीव्रतासँग अबका घटनाक्रम निर्भर रहने उनी बताउँछन्।

ट्रम्पले तत्काल ब्याजदर कम गर्नका लागि तीव्र अभियान चलाएका छन् र आगामी केही महिना भित्रै यो कुरा बुझ्ने व्यक्तिलाई फेडेरल रिजर्भ बैंकको नेतृत्वमा उनले नियुक्ति दिने अपेक्षा गरिएको छ। यदि ब्याजदर घट्यो नै भने पनि यसले डलरलाई अझ कम गर्न सक्छ, किनभने लगानीकर्ताहरूले उच्च प्रतिफल खोज्दै अन्यत्र पैसा लैजान्छन् ।

तर ह्वाइट हाउसले यसलाई राम्रै रूपमा लिन सक्छ। ट्रम्प र ह्वाइट हाउसका अन्य अधिकारीहरूले यसअघि नै डलर केही कमजोर बनाउने उपायको स्वागत गरेका थिए। यसले अमेरिकी निर्यातलाई थप प्रतिस्पर्धी बनाउन मद्दत गर्ने उनीहरूको बुझाई छ।

‘यो सुन्दा राम्रो लाग्दैन होला, तर बलियो डलरको तुलनामा‘ डलर कमजोर हुँदा तपाईँले निकै धेरै पैसा कमाउन सक्नुहुन्छ,’ ट्रम्पले जुलाईमा भनेका थिए। डलर कमजोर बनेको विषयमा यो साता सोधिएको प्रश्नमा उनले मुद्राले ‘गज्जब गरिरहेको’ आफूले ठानेको बताए।

डलरको मूल्यमा निरन्तर गिरावटले अमेरिकी कम्पनीहरूलाई हुर्कन मद्दत गर्न सक्ने ब्रुक्स बताउँछन्। तर ‘गलत कारण’का लागि डलर सस्तिएको अवस्थामा चाहीँ त्यसको असर स्वरूप भुक्तानी सीमित हुँदै जाने उनी बताउँछन्।

(बीबीसी नेपाली सेवाबाट)


प्रतिक्रिया दिनुहोस्