वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढ्यो: नबिल बैंक अग्रस्थानमा, राष्ट्रिय वाणिज्य बैंकको वृद्धिदर लोभलाग्दो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढ्यो: नबिल बैंक अग्रस्थानमा, राष्ट्रिय वाणिज्य बैंकको वृद्धिदर लोभलाग्दो



काठमाडौँ । नेपालका सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा आफ्नो खुद ब्याज आम्दानीमा सामान्य सुधार गरेका छन् ।

बैंकहरुले सर्वजनिक गरेको अपरिस्कृत वत्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको कुल खुद ब्याज आम्दानी ३.७२ प्रतिशत ले वृद्धि भई ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ९२ अर्ब ६० करोड ७३ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानीका आधारमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ । नबिल बैंकले पुस मसान्तसम्म ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २.४२ प्रतिशत को वृद्धि हो ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यद्यपि, अघिल्लो वर्ष ८ अर्ब २९ करोडभन्दा बढी आम्दानी गरेको यस बैंकको वृद्धिदरमा भने ३.३३ प्रतिशत को गिरावट देखिएको छ । तेस्रो स्थानमा रहेको कुमारी बैंकले ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ आर्जन गर्दै २७.६५ प्रतिशत को बलियो वृद्धिदर दर्ता गरेको छ ।

वृद्धिदरमा राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंकको फड्को
यस अवधिमा प्रतिशत का आधारमा सबैभन्दा धेरै सुधार गर्ने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । यस बैंकको खुद ब्याज आम्दानीमा ३८.४९ प्रतिशत को उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको यस बैंकले यस वर्ष ६ अर्ब १० करोड ३३ लाख ६५ हजार रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै, कुमारी बैंक २७.६५ प्रतिशत सानिमा बैंक १९.२६ प्रतिशत , र कृषि विकास बैंक १६.५५ प्रतिशतले पनि औसतभन्दा निकै माथिल्लो स्तरको वृद्धिदर हासिल गरेका छन् । एनएमबी बैंकको १२.१८ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.६७ प्रतिशत ले आम्दानी बढेको देखिन्छ ।

६ बैंकको आम्दानीमा गिरावट
कुल २० बैंकमध्ये १४ वटाको आम्दानी बढ्दा ६ वटा बैंकको खुद ब्याज आम्दानीमा भने संकुचन आएको छ । सबैभन्दा धेरै गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ । जसको आम्दानी १५.८७ प्रतिशत ले घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजारमा सीमित भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँ, हिमालयन बैंक १०.१९ प्रतिशतले घटेर ४ अर्ब ७० करोड रुपैयाँमा, स्ट्याण्डर्ड चार्टर्ड बैंक ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड रुपैयाँ, नेपाल बैंक ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड रुपैयाँमा आएको छ ।

सामान्य रहयो प्रभुदेखि सिटिजन्ससम्म
तथ्यांक अनुसार केही बैंकहरूले १ देखि ६ प्रतिशत को बीचमा स्थिर वृद्धि हासिल गरेका छन् । लक्ष्मी सनराइज बैंकको १.१४ प्रतिशत , प्रभु बैंकको २.३८ प्रतिशत र सिटिजन्स बैंकको २.२८ प्रतिशतले खुद ब्याज आम्दानी बढेको छ ।

त्यस्तै एभरेष्ट बैंकको ५.९६ प्रतिशतले, प्राइम बैंक ५.३० प्रतिशतले, सिद्धार्थ बैंकको ५.१५प्रतिशतले र माछापुच्छ्रे बैंकको ४.१६ प्रतिशतले खुद ब्याज आम्दानी बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सूचीको अन्तिम स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको आम्दानी सबैभन्दा न्यून १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा ९.१३ प्रतिशत ले घटेको हो । समग्रमा हेर्दा, ठूला र पुराना बैंकहरूले आफ्नो आम्दानी जोगाउन संघर्ष गरिरहँदा केही सरकारी र मध्यम स्तरका बैंकहरूले भने बजार हिस्सा विस्तार गर्दै ब्याज आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस्