अमेरिकी केन्द्रीय बैंक 'फेड’ काे नयाँ अध्यक्षका लागि ट्रम्पले रोजेका केभिन वार्श को हुन्? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी केन्द्रीय बैंक ‘फेड’ काे नयाँ अध्यक्षका लागि ट्रम्पले रोजेका केभिन वार्श को हुन्?



काठमाडौं । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) को नयाँ अध्यक्ष बनाउने घोषणा गरेका छन्।

वर्तमान अध्यक्ष जेरोम पावेलको कार्यकाल आगामी मे महिनामा समाप्त हुन लागेसँगै ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्शको प्रशंसा गर्दै उनले कहिल्यै निराश नपार्ने बताएका छन्।

ट्रम्प र वार्शबीचको विरोधाभास

यो नियुक्तिलाई धेरैले रोचक मानेका छन्। ट्रम्पले आफूलाई ‘कम ब्याजदरको पक्षपाती’ भन्दै पावेलले ब्याजदर छिटो नघटाएकोमा आलोचना गर्दै आएका छन्। तर, केभिन वार्श ऐतिहासिक रूपमा ‘उच्च ब्याजदर’ का समर्थक मानिन्छन्।

उनले सन् २००८ को वित्तीय संकटका बेला मुद्रास्फीति बढ्ने डरले आर्थिक प्याकेजको विरोध गरेका थिए, जुन अहिले धेरैका लागि विवादास्पद विषय हो। यद्यपि, हालका वर्षहरूमा उनले आफ्ना विचारहरू परिवर्तन गरेको संकेत दिँदै आएका छन्।

को हुन् केभिन वार्श?

५५ वर्षीय वार्श अमेरिकी वित्तीय क्षेत्रका एक अनुभवी व्यक्ति हुन्। उनी सन् २००६ देखि २०११ सम्म फेडको गभर्नरका रूपमा काम गरिसकेका व्यक्ति हुन्। ३५ वर्षको उमेरमा फेडको गभर्नर नियुक्त हुँदा उनी उक्त संस्थाको इतिहासमै सबैभन्दा कम उमेरका गभर्नर बनेका थिए।

उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातक र हार्वर्ड ल स्कूलबाट कानुनमा स्नातक गरेका छन्।सरकारी सेवामा आउनुअघि उनले चर्चित लगानी बैंक ‘मोर्गन स्टेनली’ मा मर्जर र एक्विजिसन विभागको कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए।

हाल उनी स्ट्यानफोर्ड विश्वविद्यालयको अनुदारवादी (कन्जरभेटिभ) झुकाव भएको ‘हुवर इन्स्टिच्युट’ मा फेलो र स्ट्यानफोर्ड बिजनेस स्कूलमा लेक्चररका रूपमा कार्यरत छन्।उनलाई पूर्व विदेशमन्त्री कन्डोलिजा राइस र चर्चित अर्थशास्त्री मोहम्मद एल-एरियन जस्ता दिग्गजहरूले समर्थन गरेका छन्।

ब्याजदर र बैंकको स्वतन्त्रतामाथिको चुनौती

यो नियुक्तिसँगै फेडको स्वतन्त्रतामाथि प्रश्न उठेको छ। कतिपय आलोचकहरूले वार्शका ससुरा रोनाल्ड लाउडर ट्रम्पका नजिकका साथी र दाता भएकाले उनले यो अवसर पाएको आरोप लगाएका छन्।

विपक्षी डेमोक्रेट सांसद डन बेयरले ह्वाइट हाउसमा को छ भन्ने आधारमा वार्शले आफ्नो विचार परिवर्तन गर्ने गरेको आरोप लगाएका छन्। तर, उनका समर्थकहरू भने वार्शले राजनीतिक दबाबभन्दा माथि उठेर काम गर्ने र फेडको स्वतन्त्रता जोगाउने विश्वास व्यक्त गर्छन्।

फेडको भूमिका र भावी रणनीति

वार्शले फेडले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको भन्दै आलोचना गर्दै आएका छन्। उनले बैंक नियमनमा फेडको भूमिका घटाउनुपर्ने र जलवायु परिवर्तन जस्ता गैर-वित्तीय विषयमा हुने अध्ययनलाई कटौती गर्नुपर्ने धारणा राख्छन्।

यस्तै, उनले सन् २००८ को संकट र कोभिड महामारीका बेला फेडले बजारमा गरेको हस्तक्षेपको पनि विरोध गर्दै आएका छन्, जसले धनीहरूलाई मात्र फाइदा पुर्याएको उनको तर्क छ।

बजारको प्रतिक्रिया

ट्रम्पले वार्शको नाम घोषणा गरेपछि विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा गिरावट देखिएको छ। अमेरिकी डलर बलियो भएको छ भने लगानीकर्ताहरूले वार्शको नेतृत्वमा हुने सम्भावित नीतिगत परिवर्तनलाई नजिकबाट नियालिरहेका छन्।

कतिपय व्यवसायीहरूले वार्शलाई अझै पनि उच्च ब्याजदर कै समर्थकका रूपमा हेरेका छन् भने कतिपयले उनलाई एक जिम्मेवार छनोट मानेका छन्।अब वार्शले ट्रम्पको कम ब्याजदरको चाहना र अमेरिकी अर्थतन्त्रको वास्तविक आवश्यकताबीच कसरी सन्तुलन मिलाउँछन् भन्ने कुराले विश्व अर्थतन्त्रको दिशा तय गर्नेछ।

यद्यपि, उनको नियुक्तिलाई अमेरिकी सिनेटले अनुमोदन गर्न भने बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस्