ग्यास अभाव टर्यो, भोलिबाट धेरैजसो ग्यासको नियमित आपूर्ति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्यास अभाव टर्यो, भोलिबाट धेरैजसो ग्यासको नियमित आपूर्ति



काठमाडौँ । दुई सातायता देखिएको खाना पकाउने ग्यासको अभाव अब विस्तारै टर्दै गएको छ । ग्यास व्यवसायीले भोलि मंगलबारबाट ग्यासको नियमित आपूर्ति हुने बताएका छन् ।

काठमाडौँमा करीब एक महिनादेखि नेपाल ग्यासको अभाव भएको थियो । त्यसपछि क्रमश: अरु ग्यासको पनि अभाव हुन थाल्यो । दुई सातायता ग्यासको लागि लाइन बस्नुपर्ने अवस्था थियो ।

काठमाडौंमा अधिकांश कम्पनीको ग्यास प्रयोग गर्ने उपभोक्ताले पालो कुरेर ग्यास पाउने अवस्था बन्यो । कतिपय व्यवसायीले ‘ग्यासमात्रै होइन, रासन पानी पनि आफ्नो पसलबाट लैजानेहरुलाई मात्रै ग्यास दिने’ भनेर फिर्ता पठाएपछि काठमाडौंमा पढ्न बसेका विद्यार्थीहरुले समेत ग्यास नपाएको गुनासो गरेका थिए ।

तर अब ग्यास अभाव अहिलेका लागि टरेको व्यवसायी बताउँछन् । मनमैजुमा एचपी र ग्यास वान विक्री गर्ने व्यवसायी श्याम शर्माले भने, ‘अहिले ग्यास आइरहेको छ । पुरानो पालो कुर्नेहरुलाई भोलिसम्म दिएर सकेपछि ग्यास अभाव टुंगिन्छ ।’ उनले भोलि मंगलबारबाट नियमित ग्यास आउने उनले बताए ।

नेपाल आयल निगमले यसअघि पनि ग्यासको आपूर्ति नरोकिएको र एक दुईटा कम्पनीको मात्रै ग्यास आपूर्तिमा समस्या भएको बताएको थियो । यसरी एउटा कम्पनीमा समस्या भएपछि बाँकी कम्पनीका ग्राहकले पनि जगेडामा ग्यास राख्न थालेर तत्कालका लागि अभाव देखिएको हुनसक्ने निगमका अधिकारीहरु बताउँछन् ।

यद्यपि, केही ग्यास उद्योगीले भने मागको तुलनामा निकै कममात्रै आयात भएको र नेपालले ढुवानी भाडा कम दिने भएका कारण भारतीय ट्यांकर व्यवसायीले नेपालमा आपूर्ति गर्नलाई कम प्राथमिकता दिँदा पनि समस्या भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्