६ महिनामा १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रियो, पुसमा मात्रै करिव २ खर्ब
काठमाडों । आर्थिक वर्ष २०८२÷८३ को छ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.१ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को छ महिनाको आर्थिक तथा सवित्तिय स्थिति अनुसार साउनदेखि पुस मसान्तसम्म १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स स्वरुप भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२२ अर्ब ४४ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ११६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.८३३ अर्ब ८६ करोड रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।













