ट्रम्प र मोदीबीच ऐतिहासिक सम्झौता: भारतले रुसी तेल नकिन्ने, अमेरिकाले भन्सार शुल्क १८ प्रतिशतमा झार्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्प र मोदीबीच ऐतिहासिक सम्झौता: भारतले रुसी तेल नकिन्ने, अमेरिकाले भन्सार शुल्क १८ प्रतिशतमा झार्ने



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा एक महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ।

भारतले व्यापार अवरोधहरू घटाउने, रूसी तेलको खरिद रोक्ने र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सम्झाैता भएकाे ट्रम्पले बताएका छन्।

याे सहमतिपछि ट्रम्पले भारतीय सामानमा लगाइने अमेरिकी भन्सार शुल्क ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्न सहमति जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोनवार्तापछि सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने, “प्रधानमन्त्री मोदीप्रति मित्रता र सम्मानका आधारमा, तथा उहाँको अनुरोधअनुसार, तत्काल लागू हुने गरी संयुक्त राज्य अमेरिका र भारतबीच एक व्यापार सम्झौतामा सहमति भएको छ, जसअन्तर्गत संयुक्त राज्य अमेरिकाले पारस्परिक भन्सार शुल्क घटाएर २५ प्रतिशतबाट १८ प्रतिशतमा झार्नेछ।”

यस सम्झौता अन्तर्गत भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० बिलियन डलरभन्दा बढीको सामान खरिद गर्ने वाचा गरेको छ।

भारतले भर्खरै युरोपेली संघ (ईयु) सँग पनि ठूलो व्यापारिक सम्झौता गरे लगत्तै अमेरिकाले भारसँग यस्ताे सम्झाैता गरेकाे हाे ।

यद्यपि, अमेरिकामा रहेका साना व्यवसायीहरूको समूह ‘वि पे द ट्यारिफ्स’ ले भने यसको आलोचना गरेको छ। उनीहरू १ वर्षअघि २.५ प्रतिशत रहेको औसत भन्सार दर अहिले १८ प्रतिशतमा स्थिर गरिनु राहत नभई स्थायी कर वृद्धि भनेका छन्।


प्रतिक्रिया दिनुहोस्