एक वर्षमा ६.०३ प्रतिशतले बढ्यो कर्मचारीको तलब, गण्डकीमा सबैभन्दा धेरै वृद्धि - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

एक वर्षमा ६.०३ प्रतिशतले बढ्यो कर्मचारीको तलब, गण्डकीमा सबैभन्दा धेरै वृद्धि



काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको ’देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार देशभरका कर्मचारी र श्रमिकको तलब तथा ज्यालादरमा वृद्धि भएको छ । गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुससम्ममा राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक औसत ६.०३ प्रतिशतले बढेको हो । 

राष्ट्र बैंकको  तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को पुस महिना सम्ममा १०२.७९ बिन्दुमा रहेको समग्र तलब तथा ज्यालादर सूचकांक आर्थिक वर्ष २०८२–०८३ को पुस मसान्तसम्म आइपुग्दा बढेर १०८.९९ बिन्दुमा आइपुगेको छ । उक्त विन्दु ६.२ बिन्दुले बढी हो । 

आर्थिक वर्ष २०८०–८१ मा भने यस्तो सूचक ९९.९५ विन्दुमामा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

तलब तथा ज्यालादर सूचकांकले बजारमा कर्मचारीको पारिश्रमिक र श्रमिकको ज्यालामा समयसँगै आएको परिवर्तनलाई मापन गर्दछ । यसले सरकारी, सार्वजनिक संस्थान र निजी क्षेत्रमा काम गर्ने जनशक्तिको आम्दानीको ’ट्रेन्ड’ देखाउँछ । 

यो सूचकांक बढ्नुको अर्थ श्रमिक र कर्मचारीको न्यूनतम आम्दानीको दरमा वृद्धि हुनु हो । राष्ट्र बैंकले यसलाई विभिन्न सातै प्रदेशको भारका आधारमा गणना गर्ने गर्दछ । 

गण्डकीमा उच्च र मधेसमा न्यून वृद्धि

तथ्यांक अनुसार प्रदेशगत आधारमा तलब वृद्धिको दरमा निकै भिन्नता देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष गण्डकी प्रदेशका कर्मचारी र श्रमिकको आम्दानीमा सबैभन्दा उच्च वृद्धि देखिएको छ । 

केन्द्रीय बैंकको तथ्यांक अनुसार गण्डकीमा गत वर्षको तुलनामा ९.७१ प्रतिशतले कर्मचारी र श्रमिकको आम्दानीमा वृद्धि भएको छ । जुन सात प्रदेशमध्ये सबैभन्दा धेरै हो । 

सबैभन्दा कम ग्रोथ हुनेमा भने कर्णाली प्रदेश रहेको छ । जसको एक वर्षमा २ प्रतिशत मात्र वृद्धि भएको देखिएको छ । 

बढी वृद्धि गर्नेको दोस्रो नम्बरमा भने लुम्बिनी प्रदेश रहेको छ । जसले एक वर्षमा ८.६४ प्रतिशतले वृद्धि गरेको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै तेस्रो कोशी प्रदेश रहेको छ । जसले एक वर्षमा ६.७७ प्रशितले वृद्धि भएको छ भने चौथो नम्बरमा सुदूरपश्चिम प्रदेश रहेको छ । एक वर्षमा सुदूरपश्चिम प्रदेशले ५.६० प्रतिशत वृद्धि भएको छ । 

पाँचौँ नम्बरमा बागमती प्रदेश रहेको छ । जसले एक वर्षको अवधिमा ४.७४ प्रतिशतलेको वृद्धि देखिएको छ भने छैटौँ नम्बरमा भने मधेस प्रदेश छ । जसको एक वर्षमा ४.४२ प्रतिशत मात्र आम्दानी वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

६ महिनाको अवस्था 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) को  तथ्यांक हेर्दा राष्ट्रिय स्तरमा तलब तथा ज्यालादर १.८४ प्रतिशतले बढेको छ । असोज मसान्तमा १०७.०२ बिन्दुमा रहेको सूचकांक पुस मसान्तमा १०८.९९ पुगेको हो । 

यो ६ महिनाको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै ५.७२ प्रतिशतको वृद्धि देखिएको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा न्यून ०.८४ प्रतिशत मात्र वृद्धि भएको छ । 

त्यस्तै, ६ महिनामा मधेस ०.९८ प्रतिशत, बागमती ०.९० प्रतिशत, लुम्बिनी २.०५ प्रतिशत, कर्णाली ०.९० प्रतिशत र सुदूरपश्चिम १.३९ प्रतिशतले ६ महिनामा कर्मचारी र श्रमिकको आम्दानीमा वृद्धि भएको तथ्यांकमा उल्लेख भएको छ । 

सबैभन्दा बढी भार बागमतीमै 

राष्ट्र बैंकले सूचकांक गणना गर्दा बागमती प्रदेशलाई सबैभन्दा बढी ३१.८९ प्रतिशत भार दिएको छ । यसको अर्थ बागमती प्रदेशमा हुने तलबको घटबढले राष्ट्रिय औसतमा ठुलो प्रभाव पार्दछ । 

यस्तै, कोशी प्रदेशको भार १५.५९ प्रतिशत, मधेसको १५.९९ प्रतिशत र लुम्बिनीको १५.६८ प्रतिशत रहेको छ । सबैभन्दा कम भार कर्णाली प्रदेशको ४.७१ प्रतिशत मात्र छ भने सुदूरपश्चिममा ६.२६ प्रतिशत रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्