खराब परिस्थितिका बाबजुद बैंकहरुको आरओई स्थिर, यसले के संकेत गर्छ ?
काठमाडौँ । अहिलेको अवस्थालाई बैंकरहरुले ‘राम्रो समय’ भन्दैनन् । करीब ४ वर्षदेखि अर्थतन्त्र सुस्ताएको छ र मानिसहरुमा लगानीको मनोबल नै कमजोर भएको देखिन्छ ।
त्यसैले बैंक तथा वित्तीय संस्थासँग अहिले पनि कुल मिलाएर ९ खर्ब हारहारी लगानी गर्न मिल्ने पैसा थुप्रिएको छ, जुन पैसा यो देशको विकासका लागि अति नै महत्वपूर्ण थियो ।
तर यसैबीचमा अहिले बैंकहरुले अर्बौं रुपैयाँ नाफा कमाएको खबरहरु आइरहेका छन् । हरेक तीन महिनामा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने नाफाको हिसाबले यसको भित्रिकुरा चाल नपाएका मान्छmेलाई त ‘जिब्रो टोक्ने’ अवस्था बनाइदिन्छ ।
यसपाली पनि त्यस्तै खबरहरु आए । उदाहरणका लागि नबिल बैंकले केवल ६ महिनामा झण्डै ५ अर्ब नाफा कमायो । ग्लोबल आईएमईले सवा ३ अर्ब र कुमारीले पौने ३ अर्ब हाराहारी नाफा ६ महिनामा कमाए । अझ कुमारी बैंकले त ८८६ प्रतिशत नाफा बढायो ।
यस्ता तथ्यांकहरु हेर्दा, पढ्दा र सुन्दा ‘आम्मामा नि, कति साह्रो नाफा कमाएका’ भन्ने भान हुन्छ । यस्तै नाफाका खबरहरु प्रचार भएपछि अचेल केही व्यक्तिहरु भने ‘बैंकले जनतालाई लुटिरहेको’ भाष्य सिर्जना गर्नमा पनि पछि परेका छैनन् । यस्ता व्यक्तिले बैंकलाई ‘नाफाखोर’ देख्छन् र लिएको ऋण पनि ‘नतिर्न’ सोझा साझा जनतालाई उक्साउँछन् ।
तर त्यो नाफा कति लगानी गरेर आर्जन भएको हो भन्नेतिर धेरैको ध्यान नगएको भन्दै बैंकरहरुले तारन्तार गुनासो पोख्दै आएका छन् । ज्यादातर बैंकहरुको मिडियासँग एउटै गुनासो हुन्छ, ‘बैंकले कति नाफा कमायो र सीईओले कति तलब खायो भन्ने समाचार ठूला हेडलाइनमा छापिन्छन् । तर त्यो नाफा कति लगानी गरेर आएको हो, अनि बैंक र यसका कर्मचारीले राज्यलाई कति कर तिरिरहेका छन् भन्ने चाहीँ आउँदैन ।’
यस प्रकारको ‘रिपोर्टिङ’ शैलीले समाजमा ‘खायो, लग्यो, लुट्यो’ भन्नेजस्तो नकारात्मक मनोविज्ञानलाई मजबूत पार्नमा योगदान गरेको भन्दै सामाजिक चिन्तकहरुले पनि यस्ता अभ्यासलाई बदल्नुपर्ने बताउँदै आएका छन् ।
यही भाष्य चिर्ने एउटा राम्रो उपाय हो– बैंकहरुको ‘रिटर्न अन इक्वीटी (आरओई)’, जसलाई नेपालीमा ‘शेयरमा प्रतिफल’ भनिन्छ। बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गर्ने त्रैमासिक वा वार्षिक वित्तीय विवरणमा प्राय: देखिने एउटा महत्वपूर्ण सूचक यो पनि हो ।
आरओईलाई कसरी बुझ्ने ?
यो सूचकले बैंकको नाफा मात्र होइन, शेयरधनीले लगानी गरेको पूँजी कत्तिको प्रभावकारी रूपमा प्रयोग भयो भन्ने कुरा स्पष्ट गर्छ। यसलाई सरल शब्दमा भन्नुपर्दा, शेयरमा प्रतिफल भनेको शेयरधनीको पैसाबाट बैंकले कति नाफा कमायो भन्ने मापन हो।
बैंकमा त्यसका शेयरधनीहरुको सम्पत्ती हुन्छ । त्यो सम्पत्ती भनेको शेयरधनी आफैँले लगानी गरेको शेयर पूँजी, बैंकले जम्मा पारेको सञ्चित नाफा र अन्य इक्वीटी पनि यो हिसाबमा जोडिन्छ । त्यसैले यदि कुनै बैंकको शेयरमा प्रतिफल १० प्रतिशत छ भने, त्यसको अर्थ ‘शेयरधनीले लगानी गरेको प्रत्येक १०० रुपैयाँबाट बैंकले १० रुपैयाँ बराबरको नाफा कमाएको छ’ भन्ने हो ।
तसर्थ, आरओई उच्च हुनु भनेको बैंकले आफ्नो पूँजीलाई दक्ष, जिम्मेवार र नाफामूलक रूपमा प्रयोग गरिरहेको संकेत हो । यसको अर्थ, बैंकमा लगानी गरेर मानिसहरुले धेरै नै नाफा कमाइरहेका छन् भन्ने पनि हुन्छ । तर आरओई ज्यादै नै बढी हुनु पनि वित्तीय स्थायित्वका लागि जोखिमपूर्ण हुनसक्छ ।
कहिलेकाहीँ बैंकले अत्यधिक ऋण प्रवाह गरेर, जोखिमपूर्ण क्षेत्रमा लगानी बढाएर वा इक्वीटी (पूँजी) सानो वा थोरै राखेर आरओई बढाएको देखिन सक्छ। यस्तो अवस्थामा नाफा त देखिन्छ, तर भविष्यमा खराब कर्जा बढ्ने सम्भावना पनि उत्तिकै बढी हुन्छ । नेपालको सन्दर्भमा बैंकिङ क्षेत्रमा १२ देखि २० प्रतिशतसम्मको शेयरमा प्रतिफल सन्तुलित र स्वस्थ मान्न सकिन्छ ।
६ बैंकमात्रै उत्तिर्ण !
तथापि अहिले २० मध्ये केवल ६ वाणिज्य बैंकको मात्रै आरओई १२ प्रतिशतभन्दा माथि देखिएको छ । पुस मसान्तको आँकडा अनुसार नबिल बैंकको आरओई १४.५४ प्रतिशत छ । यो ‘इन्डस्ट्री’कै सबैभन्दा उच्च हो । किनकी, उसको नाफा नै सबैभन्दा ज्यादा थियो । त्यसपछि कुमारी, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र सानिमा बैंकले आरओई दर १२ प्रतिशतभन्दा माथि राखेका छन् ।
माछापुच्छ्रे र एनएमबी बैंकले पनि गत पुससम्म आरओईलाई दुई अंक (१० प्रतिशतभन्दा माथि) राखेको छ । बाँक्ी १२ वटा बैंकको आरओई १० प्रतिशतभन्दा पनि कम छ । लक्ष्मी सनराइजको त यस्तो प्रतिफल ऋणात्मक छ । यो बैंक २७ करोड ३६ लाख रुपैयाँ खुद घाटामा गएका कारण उसको आरओई पनि ऋणात्मक देखिएको हो ।
अत: शेयरमा प्रतिफल भनेको बैंकको नाफा क्षमताको मात्र सूचक होइन, शेयरधनीप्रतिले कत्तिको जिम्मेवारी निर्वाह गरे र व्यवस्थापनको दक्षता कति प्रबल छ भन्ने प्रतिबिम्ब देखाइदिने ऐना पनि हो।
यस पल्ट लक्ष्मी सनराइजभन्दा बाहेक अरु थुप्रै बैंकले नाफा कमाएर पनि त्यो नाफा ‘हात्तीको मुखमा जिरा’ समान भएको छ । एनआईसी एसिया, सिटिजन, कृषि विकास र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नाफा त कमाएका छन् । तर उनीहरुको आरओई ५ प्रतिशतभन्दा पनि कम छ । यसको अर्थ ती बैंकहरुले शेयरधनीको पैसालाई न्याय दिन सकिरहेका छैनन् । भलै त्यसमा अहिलेको जोखिमपूर्ण आर्थिक हालत ज्यादा दोषि किन नहोस् ।
कतिपय अवस्थामा बैंकले असाध्यै धेरै पूँजी थुपारेका हुन्छन् । शेयरधनीको सम्पत्ती बैंकमा धेरै जम्मा पारेको छ भने पनि आरओई कमजोर देखिन सक्छ । किनकी, त्यसरी जम्मा पारिएको पैसा सही रुपमा व्यवसाय (कर्जा तथा लगानी) विस्तार गर्न व्यवस्थापन असमर्थ हुन सक्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई कम देखिनुको एउटा मुख्य कारण ऊसँग भएको असाध्यै धेरै शेयरपूँजी पनि हो ।
पछिल्लो वित्तीय विवरण हेर्दा गएको पुस मसान्तमा अघिल्लो सालको तुलनामा मिश्रित आँकडा देखिन्छ । यसबीच १० वटा बैंकले पोहोरभन्दा आरओई बढाएका छन् भने बाँकी १० वटाको प्रतिशत दर घटेको छ । कुमारी, सिद्धार्थ, नेपाल, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे, सानिमा, नेपाल एसबीआई, प्राइम कमर्शियल र ग्लोबल आईएमई बैंक आरओई बढाउनेमा पर्छन् ।
लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याडर्ड चार्टर्ड, एनएमबी, सिटिजन, प्रभू, एभरेष्ट, हिमालयन, कृषि विकास र एनआईसी एसिया बैंकभने आरओई घट्ने संस्थामा पर्छन् । कुल मिलाएर समग्र वाणिज्य बैंकको औसत आरओई यो पुसमा ८.२५ प्रतिशत छ, जुन अघिल्लो साल ८.०२ प्रतिशत थियो । यसरी पोहोरको तुलनामा औसत आरओई २२ आधार विन्दु बढेको देखिन्छ ।













