आगामी निर्वाचनको तयारी बुझ्न अर्थमन्त्री खनाल गोरखा पुगे, प्रशासन र सुरक्षा निकायसँग गरे छलफल
काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मंगलबार गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्।
जिल्लाको निवार्चन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिए ।
साे अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले हालसम्म जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका कुनै पनि उजुरी नपरेको सुखद जानकारी दिँदै भौगोलिक विकटताका कारण २३ वटा मतदान केन्द्रमा हेलिकप्टरमार्फत मतपत्र र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका ८३ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको समेत उनले जानकारी दिए।
सो क्रममा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत मोहन वेल्वासे र जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले निर्वाचन व्यवस्थापनका प्राविधिक र व्यवस्थापकीय पक्षबारे मन्त्रीलाई अवगत गराएका थिए।
अनुगमन पश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री खनालले गोरखामा निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढेकोमा सन्तुष्टि व्यक्त गरे।













