प्रविधिमैत्री नेप्सेको खाका: एसएमई प्लेटफर्म अनिवार्यदेखि सर्ट सेलिङ र अक्सन मार्केट सुरु गर्ने याेजना - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

प्रविधिमैत्री नेप्सेको खाका: एसएमई प्लेटफर्म अनिवार्यदेखि सर्ट सेलिङ र अक्सन मार्केट सुरु गर्ने याेजना



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनाका लागि गठित सुझाव समितिले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लगानीका उपकरणहरूमा विविधीकरण र प्रविधिमा आमूल सुधार गर्नुपर्ने प्रस्ताव गरेको छ।

स्थापनाको तीन दशक बितिसक्दा पनि नेप्सेमा केवल आधारभूत प्रकृतिका धितोपत्र उपकरणहरूको मात्र कारोबार भइरहेको भन्दै समितिले अब विश्व बजारमा प्रचलित आधुनिक औजारहरू भित्र्याउन सिफारिस गरेको हो ।

हाल कायम रहेको सीमित विकल्पका कारण लगानीकर्ताले बजारको उतारचढावबाट पर्याप्त लाभ लिन वा जोखिम व्यवस्थापन गर्न नसकेको प्रतिवेदनकाे ठहर छ।

समितिले नेप्सेमा एक्सचेञ्ज ट्रेडेड फण्ड, इन्डेक्स डेरिभेटिभ्स, इन्ट्रा-डे ट्रेडिङ, र सर्ट सेलिङ जस्ता सुविधाहरू तत्काल सुरु गर्न सुझाव दिएको छ ।

यसका साथै साना तथा मझौला उद्योगका लागि ‘एसएमई प्लेटफर्म’ र नयाँ स्टार्टअपहरूका लागि छुट्टै कारोबार कक्ष (स्टार्टअप प्लेटफर्म) सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

हाल करिब ७२ लाख ३९ हजारभन्दा बढी डिम्याट खाता रहेकाले यस्ता नयाँ उपकरणले लगानीकर्तालाई आफ्नो पोर्टफोलियो विविधीकरण गर्न र बजारमा तरलता बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस्तै प्रतिवेदनले हालको कारोबार प्रणालीलाई विस्थापन गरी अत्याधुनिक र सुरक्षित प्रविधि अपनाउन जोड दिएको छ । नेप्सेको अनलाइन प्रणाली (टीएमएस) र केन्द्रीय निक्षेप कम्पनी (सीडीएससी) बीच वास्तविक समयमा तथ्याङ्क आदानप्रदान हुने गरी ‘एपीआई इन्टिग्रेसन’ गर्नुपर्ने र साइबर सुरक्षालाई मजबुत बनाउन ‘२४ सै घण्टा’ निगरानी गर्ने संयन्त्र बनाउनुपर्ने सुझाव दिइएको छ ।

यसका साथै, नेप्सेले आफ्नै डाटा सेन्टरको स्तरोन्नति गर्ने र सूचना प्रविधिमा दक्ष जनशक्ति जस्तै: डाटा साइन्टिस्ट र डाटा एनालिस्टहरू भर्ना गरी संस्थालाई प्रविधिमैत्री बनाउनुपर्ने योजना समेत अघि सारेको छ ।

समितिले यी सुधारहरू कार्यान्वयन गर्न नेप्सेले आफ्नै ‘रणनीतिक योजना’ बनाएर काम गर्नुपर्ने र प्रणालीको नियमित अडिट गराउनुपर्ने बताएको छ ।

यस्तो सुधारले नेपाली पुँजी बजारलाई पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने मात्र नभई गैरआवासीय नेपालीहरूलाई समेत सेयर बजारमा आकर्षित गर्न मार्गप्रशस्त गर्ने प्रतिवेदनको निष्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस्