१४.६२ प्रतिशतले बढ्याे सूर्यज्योति लाइफकाे खुद बीमाशुल्क आर्जन, अधिकांश सूचकमा वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २.९० प्रतिशतले बढी हो। अघिल्लो वर्षको पुससम्म कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जनमा उत्साहजनक वृद्धि देखिएको छ। पुस मसान्तसम्म कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँको तुलनामा बढी हो।
यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १४.६२ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
वित्तीय मजबुतीका हिसाबले कम्पनीको जीवन बीमा कोषको आकारमा पनि ठूलो वृद्धि भएको छ। गत वर्ष पुससम्म ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको जीवन बीमा कोष अहिले ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) ८ रुपैयाँ ०६ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा र पिई रेसियो ५५.६९ गुणा कायम भएको छ।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित छ।













