स्वास्थ्य बीमाको समस्या सुल्झाउन प्रधानमन्त्रीको सक्रियता, आज सरोकारवालासँग छलफल गर्दै
काठमाडौं । देशका ठूला अस्पतालहरूले भुक्तानी अभावमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विद्यमान समस्या र चुनौतीबारे छलफल गर्न उनले बुधबार सरोकारवाला पक्षहरूको आकस्मिक बैठक बोलाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। पछिल्लो समय बजेट अभावका कारण बीमा गरेका बिरामीहरूले उपचार सुविधा पाउन सास्ती भोगिरहेका छन्।
विशेष गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै सेवा दिन नसक्ने सूचना जारी गरेपछि यो संकट सतहमा आएको हो। अन्य ठूला अस्पतालहरूले पनि उस्तै समस्या देखाउँदै सेवा रोक्ने चेतावनी दिँदै आएका छन्।
यसैबीच, बढ्दो वित्तीय दबाबलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि बहिरङ्ग (ओपिडी) सेवाअन्तर्गत एक आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्मको मात्र उपचार सुविधा दिइने जनाएको छ।













