आइएमई लाइफले कमायो २७ करोड नाफा, कस्ताे छ समग्र वित्तिय अवस्था ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइएमई लाइफले कमायो २७ करोड नाफा, कस्ताे छ समग्र वित्तिय अवस्था ?



काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडकाे नाफा ुामान्य बढेकाे छ।

कम्पनीले प्रकाशित गरेकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशत बढेकाे हाे ।

साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा पनि सामान्य वृद्धि देखिएकाे छ। पुस मसान्तमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ । यस्तै यस अवधिमा प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।

यस्तै समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशत बढेर ३ अर्ब १९ कराेड २० लाख ९७ हजार र कुल आम्दानी २७.५९ प्रतिशत बढेर ४ अर्ब १ कराेड ४५ लाख ८० हजार रूपैयाँ पुगेकाे छ।

त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर २ अर्ब ९४ कराेड १३ लाख ९९ हजार रूपैयाँ र कुल खर्च ३०.०६ प्रतिशत बढेर ३ अर्ब ७४ कराेड ३९ लाख २२ हजार रूपैयाँ पुगेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्