अमेरिका-इरानबीच आज मस्कटमा वार्ता हुँदै, ट्रम्पको बमबारी धम्की र खामेनेईको अडानले विश्व तरंगित
काठमाडौं । प्रत्यक्ष सैन्य मुठभेडको खतरा बढिरहेका बेला अमेरिका र इरानका उच्च अधिकारीहरू बीच ओमानमा वार्ता हुने भएको छ। वार्ता आजै अर्थात् शुक्रबार (फेब्रुअरी ६, २०२६) ओमानको राजधानी मस्कटमा हुँदैछ।
मध्यपूर्वमा जारी तनाव कम गर्न र सम्भावित युद्ध टार्न क्षेत्रीय मध्यस्थकर्ताहरूको प्रयासमा यो कूटनीतिक पहल सुरु हुन लागेको हो।
गत वर्ष इरानमा भएको सरकार विरोधी प्रदर्शनमा सुरक्षा बलले गरेको दमन र त्यसपछि अमेरिकाले बढाएको सैन्य उपस्थितिका कारण दुई देशबीचको सम्बन्ध चरम तनावमा छ। मानव अधिकारवादी संस्थाहरूका अनुसार उक्त प्रदर्शनका क्रममा इरानमा करिब ७ हजार मानिसको मृत्यु भएको थियो भने ५० हजारभन्दा बढी पक्राउ परेका थिए।
‘फिंगर अन द ट्रिगर’ देखि बमबारीको चेतावनीसम्म
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराक्चीले गर्नेछन्, जसले हालै मात्र आफ्ना सुरक्षा निकायहरू ‘फिंगर अन द ट्रिगर’ (युद्धका लागि तैनाथ) को अवस्थामा रहेको बताएका थिए। उता, अमेरिकाको तर्फबाट विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाईं जारेड कुश्नरले वार्ताको नेतृत्व गर्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे बमबारी गर्ने चेतावनी दिँदै आएका छन्। उनले मध्यपूर्वमा हजारौँ सैनिक र अत्याधुनिक विमानवाहक जहाजसहितको ‘आर्माडा’ पठाइसकेका छन्। गत जुनमा इजरायल र इरानबीचको युद्धका क्रममा अमेरिकाले इरानका तीनवटा मुख्य आणविक केन्द्रमा बमबारी गरेयता यी दुई देशका अधिकारीहरू पहिलो पटक आमनेसामने हुन लागेका हुन्।
यी हुन् वार्ताका मुख्य अजेन्डाहरू:
विशेषगरी इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइललाई लिएर दुवै देशबीच गम्भीर मतभेद कायम छ।
अमेरिकाले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न, संवर्धित युरेनियमको भण्डार नष्ट गर्न र ब्यालिस्टिक मिसाइल कार्यक्रममा लगाम लगाउन माग गरेको छ। साथै, इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र मध्यपूर्वका सशस्त्र समूहहरूलाई दिइँदै आएको सहयोग बन्द गर्नुपर्ने अडान राखेको छ।
तर, इरानले भने वार्ता केवल आणविक कार्यक्रममा मात्र केन्द्रित हुने अडान राखेको छ। इरानले आफ्नै भूमिमा युरेनियम संवर्द्धन गर्न पाउनु आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ।
यस्तै वार्तमा इरानले आफ्नो संकटग्रस्त अर्थतन्त्र सुधार्न अमेरिकाले लगाएका आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने सर्त राख्नेछ।
अस्तित्व जोगाउने अन्तिम अवसर?
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानको वर्तमान सत्ता सबैभन्दा कमजोर अवस्थामा रहेको विश्लेषण गरिएको छ। आर्थिक संकट र आन्तरिक जनविद्रोह झेलिरहेका इरानी नेताहरूका लागि यो वार्ता अमेरिकी सैन्य कारबाही टार्ने अन्तिम अवसर हुन सक्ने विज्ञहरूको भनाइ छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आणविक मुद्दाभन्दा बाहिर गएर छलफल नभए वार्ताको कुनै अर्थ नहुने स्पष्ट पारेका छन्। ट्रम्पले त इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई ‘निकै डराउनुपर्ने’ चेतावनी समेत दिइसकेका छन्। टर्की, इजिप्ट र कतारको मध्यस्थतामा सुरु हुन लागेको यो वार्ताले मध्यपूर्वमा शान्ति ल्याउँछ वा युद्धको विगुल फुक्छ भन्नेमा विश्वको नजर टिकेको छ।













