सुन बजारमा २०२६ को हलचल: सुरक्षित लगानी मानिएको धातु कसरी बन्यो 'मिम स्टक'? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन बजारमा २०२६ को हलचल: सुरक्षित लगानी मानिएको धातु कसरी बन्यो ‘मिम स्टक’?



काठमाडौं । हजारौँ वर्षदेखि सुनलाई मूल्यको भण्डार (स्टोर अफ भ्यालु) का रूपमा हेरिँदै आएको छ। तर, सन् २०२६ मा भने यसको कारोबार कुनै सुरक्षित सम्पत्तिको रूपमा भन्दा पनि ‘मिम स्टक’ (अत्यधिक उतारचढाव हुने सेयर) जस्तै देखिएको छ।

सामान्यतया संकट, मुद्रास्फीति वा सेयर बजारमा गिरावट आउँदा लगानीकर्ताहरू आफ्नो सम्पत्ति जोगाउन सुनतर्फ आकर्षित हुन्छन्, तर पछिल्लो समय यसको मूल्यमा देखिएको तीव्र उतारचढावले विश्लेषकहरूलाई समेत अचम्ममा पारेको छ।

यस वर्ष सुनको मूल्यले नयाँ रेकर्डहरू कायम गर्दै गत महिना इतिहासकै सबैभन्दा ठूलो ‘एकदिने गिरावट’ पनि व्यहोरेको छ। सन् १९७९ मा १४४ प्रतिशत र सन् २०२० को महामारीमा २४ प्रतिशतले बढेको सुनको मूल्य यस वर्ष हालसम्म १५ प्रतिशतले बढेको छ।

बढ्दो भू-राजनीतिक तनावका बीच व्यापारीहरूको अत्यधिक खरिद चापले गर्दा मूल्य अकल्पनीय रूपमा आकाशिएको हो। सन् २०२४ मा २७ प्रतिशत र २०२५ मा ६७ प्रतिशतले बढेको सुनको मूल्य अक्टोबरमा ४ हजार डलर र जनवरीमा ५ हजार डलर प्रति औंस पुगेर नयाँ उचाइ छोएको थियो।

विश्वमा अहिले धातुहरूमा लगानी गर्न पहिलेभन्दा निकै सहज भएको छ। एक्सचेन्ज ट्रेडेड फण्ड (इटीएफ) मार्फत लगानीकर्ताले सेयर जस्तै गरी सुन र चाँदीको खरिद–बिक्री गर्न सक्छन्। ‘फ्याक्टसेट’को तथ्यांक अनुसार अगस्ट महिनामा मात्रै भौतिक सुनको प्रदर्शन पछ्याउने ‘एसपीडीआर गोल्ड ईटीएफ’ मा इतिहासकै ठूलो लगानी भित्रिएको छ। विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको ‘मिम स्टक’को जस्तै होडबाजी अहिले सुन र चाँदी बजारमा देखिएको छ, जहाँ अत्यधिक चर्चाका कारण लगानीकर्ताहरू मूल्य बढ्ने आशामा झुम्मिरहेका छन्।

पछिल्लो समय बिटक्वाइनको मूल्यमा आएको ५० प्रतिशतको गिरावटका कारण पनि लगानीकर्ताहरू सुनतर्फ मोडिएको अनुमान गरिएको छ। यद्यपि, जनवरी ३० को भारी गिरावटले सुनको चमक र यसको ‘सुरक्षित लगानी’को छविमाथि प्रश्न उठाएको छ।

यता, विश्वव्यापी रूपमा बढ्दो भू-राजनीतिक तनाव र अमेरिकी बजारमा देखिएको लगानीको होडबाजीले नेपाली उपभोक्ताहरूलाई समेत अन्योलमा पारेको छ। विशेष गरी विवाहको सिजन र चाडपर्वमा सुनको माग उच्च हुने नेपालमा उपभोक्ताहरू अहिले ठूलो अन्योलमा छन्।

माघ महिनामा सुनको भाउमा देखिएको अस्वाभाविक उतारचढावले बजारलाई थप अनिश्चित बनाएको छ। महिनाको सुरुवातमा प्रतितोला रु २ लाख ७६ हजार ५०० बाट सुरु भएको सुनको मूल्य माघ १५ गते अहिलेसम्मकै उच्च बिन्दु रु ३ लाख ९ हजार ३०० सम्म पुगेको थियो।

यद्यपि, यो बढोत्तरी टिकाउ हुन सकेन र माघ १९ गतेसम्म आइपुग्दा मूल्यमा १५ प्रतिशतभन्दा बढीको ऐतिहासिक गिरावट देखियो। महिनाको उत्तरार्धमा मूल्यमा तीव्र घटबढ जारी रहँदै माघ २१ गते एकैदिन रु १४ हजार ४०० ले बढेर रु ३ लाख ४ हजार ७०० पुगेको सुन, माघ २३ गते पुनः घटेर रु २ लाख ९१ हजारमा झरेको छ।

सुरक्षित लगानी मानिने सुनको भाउमा देखिएको यस्तो ‘रोलर-कोस्टर’ उतारचढावले गर्दा यो धातु अहिले आम सर्वसाधारणको पहुँचभन्दा निकै टाढा पुगेको देखिन्छ। यद्यपि, तीव्र उतारचढावका बाबजुद पनि विश्लेषकहरूले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रति औंस ६,३०० डलर पुग्न सक्ने प्रक्षेपण गरेका छन्।


प्रतिक्रिया दिनुहोस्