उदयपुर–खोटाङ जोडिने सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उदयपुर–खोटाङ जोडिने सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालन



खोटाङ । उदयपुर–खोटाङ जोडिने सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको हो ।

गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर लामो छ ।

बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्