जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइचीको दललाई भारी बहुमत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइचीको दललाई भारी बहुमत



काठमाडाैं। जापानकाे प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत विजयी भएकाे छ। आइतबार सम्पन्न निर्वाचनमा मतदाताहरूले उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीलाई भारी बहुमत दिएका हुन्। मध्यावधि निर्वाचनमार्फत ताकाइचीले लिएको राजनीतिक जोखिम अन्ततः सफल भएको छ।

प्रधानमन्त्री ताकाइचीका लागि जनमत संग्रहको रूपमा हेरिएको यस निर्वाचनमा ४६५ सदस्यीय तल्लो सदनमा एलडीपी एक्लैले ३१० भन्दा बढी सिट जितेको छ। दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एउटा दलले दुई-तिहाइ सिट जितेको यो पहिलो पटक हो। सत्तारुढ गठबन्धनले कुल ३४० भन्दा बढी सिट प्राप्त गरेको छ।

निर्वाचनपछि ताकाइचीले भनिन्, “मैले जिम्मेवार र सक्रिय वित्तीय नीतिका लागि जनादेश मागेको थिएँ, जसले अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ।”

ट्रम्पको समर्थन र अन्तर्राष्ट्रिय प्रभाव जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी कट्टरपन्थी अनुदारवादी नेता ताकाइचीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको थियो। ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै उनको साहस र बुद्धिमानी निर्णयले ठुलो सफलता पाएको बताएका छन्।

ताकाइचीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै अमेरिका-जापान गठबन्धनको सम्भावना “असीमित” रहेको उल्लेख गरेकी छिन्।

चुनौती र अवसर तल्लो सदनमा प्राप्त दुई-तिहाइ बहुमतले ताकाइचीलाई माथिल्लो सदनका निर्णयहरू उल्ट्याउने र संविधान संशोधनका प्रस्तावहरू अघि बढाउने शक्ति प्रदान गरेको छ। अब उनलाई जापानको वृद्ध हुँदै गएको जनसंख्या, बढ्दो महँगी, कमजोर येन र चीनसँगको बिग्रिएको सम्बन्ध जस्ता चुनौतीहरू सामना गर्न नयाँ जनादेश प्राप्त भएको छ।

गत असोजमा शिगेरु इशिबाको राजीनामापछि सत्तामा आएकी ताकाइचीले आफ्नो पद नै दाउमा राखेर संसद भंग गरेकी थिइन्। उनको कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र ‘मार्ग्रेट थ्याचर’ बाट प्रेरित राजनीतिक छविका कारण उनी जापानी जनतामाझ निकै लोकप्रिय बनेकी छिन्।


प्रतिक्रिया दिनुहोस्