सिटिजन लाइफले कमायो झन्डै ४ अर्ब प्रिमियम, लगानी र कर्जाबाट मात्रै १ अर्ब आम्दानी, कस्ता छन् अन्य सूचक ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन लाइफले कमायो झन्डै ४ अर्ब प्रिमियम, लगानी र कर्जाबाट मात्रै १ अर्ब आम्दानी, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाे नाफामा झिनाे सुधार देखिएकाे छ।

कम्पनीले सार्वजनिक गरेको गरेकाे दोस्रो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो ६ महिनामा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएकाे छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

साउनदेखि पुस मसान्तसम्म कम्पनीको व्यवसाय विस्तारमा भने राम्रो सुधार देखिएको छ। कम्पनीको खुद बिमा शुल्क २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो। यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.६६ प्रतिशतले बढेर १ अर्ब १ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जीवन बिमा कोषमा उल्लेख्य प्रगति देखिएको छ। अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेको यो कोष ३५.३९ प्रतिशतले वृद्धि भई २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कम्पनीको रिटेन्ड अर्निङमा भने ६९.०१ प्रतिशतको गिरावट आई ३५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। महाविपत्ति जगेडा कोष भने १०.०५ प्रतिशतले बढेर २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानीसँगै खर्च पनि बढेको देखिएको छ। समीक्षा अवधिमा कुल खर्च २०.०५ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिसन खर्च पनि १९.५० प्रतिशतले बढेर ३८ करोड ६ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानीको हकमा भने कम्पनीले खासै ठूलो वृद्धि व्यहोर्नु परेको छैन; कुल दाबी भुक्तानी ०.०६ प्रतिशतको झिनो बढोत्तरीसहित ८८ करोड १ लाख रुपैयाँ रहेको छ।

कम्पनीको नाफामा झिनो सुधार भए पनि चुक्ता पुँजी ५ अर्ब कायम रहँदा प्रतिसेयर आम्दानी (इपीएस) मा भने गिरावट आएको छ। अघिल्लो वर्ष ११.७३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २.४७ रुपैयाँले घटेर ९.२६ रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ। बीमालेखको संख्यामा भने कमी आएको देखिन्छ; अघिल्लो वर्ष १० लाख ६४ हजार रहेको पोलिसी संख्या यस वर्ष ८ लाख ४६ हजारमा खुम्चिएको छ।


प्रतिक्रिया दिनुहोस्