मस्कको मंगल यात्रावाला महत्त्वाकांक्षामा अल्पविराम, अबको निशाना चन्द्रमातिर
एजेन्सी । संसारका सबैभन्दा धनि व्यक्ति एलोन मस्कले ‘कुनै दिन’ मंगल ग्रहमा मानव बस्ती बसाउने एउटा विशाल महत्त्वाकांक्षा बोकेका थिए । अब तत्कालका लागि त्यो सपना थाँती राखिएको छ। अब उनको प्राथमिकता अझ नजिक अझ सजिलै प्राप्त गर्न सकिने लक्ष्यतर्फ मोडिएको छ– चन्द्रमामा मानव बस्ती बसाउने।
आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्वीटर)मा एक बयान जारी गर्दै यी अर्बपतिले आफ्नो कम्पनी ‘स्पेस–एक्स’को प्राथमिकता अब चन्द्रमामा ‘स्व–विस्तारित सहर’ (सेल्फ ग्रोइङ सीटी) निर्माण गर्नेतर्फ केन्द्रित भएको बताएका छन्।
उनले मंगल ग्रहमा बस्ती बसाउन २० वर्षभन्दा बढी लाग्ने तर चन्द्रमामा भने एक दशकभित्रै यो सम्भव हुने तर्क अघि सारेका छन्।
‘अहिलेको मुख्य प्राथमिकता सभ्यताको भविष्य सुरक्षित गर्नु हो र चन्द्रमाको मार्ग अझ छिटो छ,’ उनले एक्समा उल्लेख गरे, ‘मंगल ग्रहको यात्रा तब मात्र सम्भव हुन्छ जब प्रत्येक २६ महिनामा ग्रहहरूको मिलन (अलाइनमेन्ट) हुन्छ, त्यहाँ पुग्नै ६ महिनाको समय लाग्छ। तर चन्द्रमाका लागि भने हामी हरेक १० दिनमा यान प्रक्षेपण गर्न सक्छौँ र यात्रा केवल २ दिनको हुन्छ।’
मस्कले ‘स्व–विस्तारित सहर’ भन्नाले के बुझाउन खोजेका हुन् वा उनको यो योजना नासाको चन्द्र–योजनासँग मेल खान्छ कि खाँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
मस्कले मंगल ग्रहमा सहर बनाउने प्रतिबद्धताबाट कम्पनी पछि नहटेको र आगामी ५ देखि ७ वर्षभित्र यसको काम सुरु हुने समेत बताएका छन्। गत मे महिनासम्म पनि मस्कले सन् २०२६ को अन्त्यसम्ममा पहिलो मानवरहित ‘स्टारशिप’ मंगल ग्रहमा अवतरण गराउने दाबी गर्दै आएका थिए।
अन्तरिक्ष यात्राको आफ्नो पूर्वघोषित भविष्यवाणीलाई मस्कले त्यस्तो समयमा परिमार्जन गरेका छन्, जब गत हप्ता मात्रै स्पेस–एक्सले ‘एक्स–एआई’लाई खरिद गर्यो। यो कदमले उनका दुई ठूला महत्त्वाकांक्षी कम्पनीहरूलाई गाभेर विश्वकै सबैभन्दा मूल्यवान् निजी फर्म निर्माण गर्ने बाटो खोलेको छ।
एक दशकभन्दा बढी समयदेखि मस्कले सन् २००२ मा स्पेस–एक्स स्थापना भएदेखि नै मंगल ग्रहमा बस्ती बसाउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रचार गर्दै आएका थिए। विभिन्न सम्मेलनहरूमा उनले ‘रातो ग्रह’मा मानव उपस्थितिको योजनालाई निकै विस्तारमा व्याख्या गर्ने गर्थे। उनका अनुसार मानव जातिलाई सम्भावित महाप्रलयबाट जोगाउन त्यहाँ उपनिवेश बनाउनु अनिवार्य छ।
यसको विपरित, नासा भने विशेषगरी डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चन्द्रमाको अभियानमा केन्द्रित रहँदै आएको छ। सन् १९७२ मा ‘अपोलो’ कार्यक्रम अन्त्य भएपछि पहिलो पटक सन् २०२८ सम्ममा मानवलाई पुन: चन्द्रमाको सतहमा उतार्ने लक्ष्यका साथ नासा अहिले अघि बढिरहेको छ। विगतमा मस्कले नासाको यो ‘आर्टेमिस’ अभियानलाई ‘ध्यान भड्काउने बाटो’ भन्दै आलोचना गरेका थिए।
त्यस समय उनले लेखेका थिए, ‘होइन, हामी सिधै मंगल ग्रहमा जाँदैछौँ। चन्द्रमा त केवल ध्यान भड्काउने माध्यम मात्र हो।’
प्रविधिको क्षेत्रमा पाइला चाल्दै सरकारी ठेक्काहरूबाट ठूलो लाभ लिने यी अर्बपतिले पछिल्लो समय राजनीतिमा पनि निकै चासो देखाएका छन्। उनले अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्दै २९ करोड डलर खर्च गरे र ह्वाइट हाउसमा जागिर समेत पाए। बीचमा ट्रम्पसँग केही मनमुटाव भए पनि गत शरद् ऋतुदेखि उनीहरूबीचको सम्बन्ध पुन: सुमधुर भएको छ।
सोम–विवादको घेरा
नासाले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट चन्द्रमाको निकटसम्म पुर्याउन रकेट र स्पेसक्राफ्ट त बनाएको छ, तर चन्द्रमाको सतहमा ओराल्ने ‘लुनार ल्यान्डर’ बनाउने झण्डै ३ अर्ब डलरको ठेक्का भने स्पेस–एक्सकै पोल्टामा छ। मस्कको दाबी अनुसार यो कार्यका लागि ‘स्टारशिप’ प्रणालीको प्रयोग गरिनेछ, जुन आजसम्मकै सबैभन्दा विशाल स्पेसक्राफ्ट हो।
यद्यपि, ‘स्टारशिप’ अझै विकासको प्रारम्भिक चरणमा छ र परीक्षणका क्रममा यो धेरै पटक विस्फोट समेत भइसकेको छ। यसले अहिलेसम्म न त कक्ष (अर्बिट)मा यात्रा गरेको छ, न त कुनै सफल उडान नै। अर्कोतर्फ, नासाले चीनको चन्द्र–अभियानभन्दा अघि पुग्ने होडबाजी गरिरहँदा मस्कको ढिलासुस्तीप्रति केही अधिकारीहरूले चिन्ता समेत व्यक्त गरेका छन्।
अन्तरिक्षको यो दौडमा जेफ बेजोसको कम्पनी ‘ब्लु ओरिजिन’ पनि प्रतिस्पर्धामा छ, जसले चन्द्र–ल्यान्डर विकासमा ध्यान केन्द्रित गर्न आफ्नो पर्यटन रकेटको उडान समेत रोकेको छ।
मस्कले अब चन्द्रमामा ध्यान केन्द्रित गर्ने घोषणा यस्तो बेला गरेका छन्, जब नासा आफ्नो ‘आर्टेमिस २’ अभियानको तयारीमा छ। यो अभियान अन्तर्गत चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्नेछन्, तर अवतरण हुने छैन । यो मिसन आगामी मार्च महिनाको सुरुमै प्रक्षेपण हुने तालिका छ।













