दक्षिण कोरियामा बच्चा जन्माउन विदेशी महिला ‘आयात’ गर्ने भनेपछि के भयो ?
एजेन्सी । दक्षिण कोरियाको घट्दो जन्मदरलाई उकास्नका लागि “भियतनाम वा श्रीलङ्काबाट युवतीहरू आयात गर्ने” विवादास्पद प्रस्ताव राख्ने एक उच्च अधिकारी आफ्नो राजनीतिक दलबाट निष्कासित भएका छन्।
दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा पर्ने जिन्डो काउन्टीका प्रमुख किम ही-सूले गत हप्ता आयोजित एक सार्वजनिक भेलाका क्रममा यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले ग्रामीण क्षेत्रका “युवाहरूसँग विवाह गराइदिनका लागि” विदेशी युवतीहरू ल्याउनुपर्ने सुझाव दिएका थिए ।
विश्वकै सबैभन्दा कम जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाको ५ करोड जनसंख्या आगामी ६० वर्षमा घटेर आधा हुन सक्ने प्रक्षेपण गरिएको छ। यही जनसांख्यिकीय संकटको पृष्ठभूमिमा किमको यस्तो भनाइ आएको हो।
तर, टेलिभिजनमा प्रसारित उनको यो अभिव्यक्तिले कूटनीतिक र सामाजिक रूपमा ठूलो आक्रोश निम्त्याएको छ। यसपछि भियतनामले कूटनीतिक विरोध जनाउनुका साथै दक्षिण कोरियाको सत्तारुढ ‘डेमोक्रेटिक पार्टी’ले उनलाई पार्टीबाट निष्कासित गरेको छ।
माफीले पनि साम्य भएन
आक्रोश सार्वजनिक भेलाको भोलिपल्टै किमले माफी मागेर विवाद साम्य पार्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन। उक्त भेला खासगरी जनसंख्या घटिरहेका ग्रामीण क्षेत्रहरूको प्रशासनिक पुनर्संरचना र समायोजनका विषयमा छलफल गर्न आयोजना गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार किमले आफ्नो टिप्पणीको बचाउ गर्दै ग्रामीण क्षेत्रको जनसंख्या समस्यालाई उजागर गर्न खोजेको दाबी गरेका थिए । यद्यपि, उनले आफूले प्रयोग गरेका शब्दहरू “अनुपयुक्त” भएको स्वीकार गरेका छन्।
दक्षिण जेओला प्रान्तले पनि किमको टिप्पणीका कारण “भियतनामी नागरिक र महिलाहरूको भावनामा गहिरो चोट पुगेको” भन्दै औपचारिक माफी मागेको छ।
कूटनीतिक र मानव अधिकारवादी क्षेत्रको विरोध
सियोलस्थित भियतनामी दूतावासले किमको भनाइको कडा निन्दा गरेको छ। दूतावासले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो केवल शब्दको चयन मात्र नभएर आप्रवासी महिला र अल्पसङ्ख्यक समूहप्रति हेर्ने दृष्टिकोण र मूल्यमान्यताको गम्भीर विषय हो।”
यता श्रीलङ्काली अधिकारीहरूले भने यसबारे हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
‘डेमोक्रेटिक पार्टी’ को सर्वोच्च परिषद्ले सोमबार किमलाई निष्कासन गर्ने निर्णय सर्वसम्मतिले गरेको पार्टी प्रवक्ताले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्।
यसैबीच, महिला र आप्रवासीहरूको हकहितका लागि कार्यरत अभियन्ताहरूले किमको अभिव्यक्तिको विरोधमा मंगलबार जिन्डो काउन्टी कार्यालय अगाडि र्याली निकाल्ने तयारी गरेका छन्।













