बौरिँदै सौर्य, डेढ वर्षपछि देखिँदै छ आकाशमा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

बौरिँदै सौर्य, डेढ वर्षपछि देखिँदै छ आकाशमा



काठमाडौं । करीब डेढ वर्ष ‘ग्राउण्डेड’ भएपछि अब सौर्य एयरलाइन्सले पनि उडान पुन: सञ्चालन गर्ने भएको छ । निजी क्षेत्रको यो वायुसेवा कम्पनीले २०८१ साउन ९ गतेदेखि उडान भरेको छैन ।

त्यस बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दावित्तिकै दुर्घटनामा परेपछि यो वायुसेवा लामो समय थन्कियो । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व फेरिएसँगै लामो समयदेखि ‘ग्राउण्डेड’ यो विमान कम्पनीलाई पुन:जागृत गर्नमा नियामकले सहजिकरण गरिदिएको छ ।

अत: हालैमात्र प्राधिकरणबाट उडान अनुमति पाएपछि फागुन पहिलो सातादेखि नै उडान गर्ने गरी तयारी थालिएको कम्पनीले जनाएको छ । उक्त एयरलाइन्सले आगामी फागुन पहिलो सातादेखि चार्टर उडान गर्दै छ । अहिले ऊसँग सञ्चालनयोग्य हालतमा एउटामात्रै जहाज छ । अर्को जहाज भने ६ महिनाभित्रै तयार हुने र नियमित उडानमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

सौर्यसँग अहिले ५० सिट क्षमताको दुईवटा जहाज छ । त्यसमध्ये एउटा जहाज पोहोरको साउनमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि यो एयरलाइन्स नै निलम्बनमा परेको थियो ।

प्राधिकरणले यो एयरलाइन्सलाई पहिलो पल्ट २०७१ कात्तिक २७ मा उडान सञ्चालनको अनुमति दिएको थियो । उक्त उडान अनुमतिलाई प्राधिकरणले यही माघ ४ मा नवीकरण गरिदिएको थियो ।

प्राधिकरणबाट प्राप्त अनुमति अनुसार यो एयरलाइन्सले अब काठामाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीको दुईतर्फी उडान गर्न सक्ने छ ।


प्रतिक्रिया दिनुहोस्