रामेछापमा बस दुर्घटना: तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै
काठमाडौँ । काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको यात्रुबाहक बस रामेछापमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। रामेछापको खाँडादेवी गाउँपालिकास्थित मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो।
दुर्घटनास्थलबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गरेको उक्त बस आज बिहान अनियन्त्रित भई सडकबाट सिधै नदीमा खसेको थियो।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार ७ जनाको सिन्धुलीको खुर्कोट र १ जनाको रामेछापको मन्थलीमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको बताइएको छ।
सडकबाट खसेको बस अहिले तामाकोशी नदीमा डुबेको अवस्थामा छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेकाले बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।













