थाइल्याण्ड चुनावी परिणाम : परिवर्तन होइन, स्थायित्व ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

थाइल्याण्ड चुनावी परिणाम : परिवर्तन होइन, स्थायित्व !



एजेन्सी । थाइल्याण्डमा चुनावी सरगर्मी शान्त भएसँगै धेरै थाई नागरिकहरू अचम्ममा परेका छन्। उनीहरू सोधिरहेका छन्, “आखिर यो के भयो?”

चुनावअघिका धेरै सर्वेक्षणले प्रगतिशील ‘पिपल्स पार्टी’को जित हुने प्रक्षेपण गरेका थिए। कतिपयले त यसले २०० भन्दा बढी सिट जित्ने अनुमान गरेका थिए। तर प्रधानमन्त्री अनुतिन चानभिराकुलको पार्टी अगाडि आउने कुरामा कसैले सोचेका थिएनन्।

गत आइतबार भएको निर्वाचनले एउटा ठूलो प्रश्नको जवाफ दिएको छ। के थाइल्याण्ड राजनीतिक अस्थिरता र कमजोर अर्थतन्त्रको चक्रबाट बाहिर निस्कन सक्ला? चुनावी नतिजा भन्छ— अहिल्यै त्यो सम्भव छैन।

यो चुनाव थाइल्याण्डको राजनीतिमा एउटा नाटकीय मोड साबित भयो। प्रधानमन्त्री अनुतिन चानभिराकुलको ‘भुमजाइथाई पार्टी’ ले ५०० मध्ये १९४ सिट जित्यो। अब उनले गठबन्धन सरकार बनाउने बाटो खुला भएको छ। सन् २०२३ मा यो पार्टीले ७१ सिट मात्र पाएको थियो। यो शताब्दीमा राजसंस्था र सेना समर्थित अनुदारवादी शक्तिले पाएको यो पहिलो ठूलो जित हो।

अर्कोतर्फ, प्रगतिशील ‘पिपल्स पार्टी’ नराम्ररी पछारियो। सर्वेक्षणहरूमा अगाडि देखिए पनि यसले मात्र ११६ सिटमा चित्त बुझाउनु पर्यो। थक्सिन सिनावत्राको ‘फेउ थाई’ पार्टी ७६ सिटमा खुम्चिँदै तेस्रो स्थानमा झर्यो।

एउटा आधुनिक र प्रविधिमैत्री युवा पार्टी किन पछारियो? र, राजसंस्थाप्रति वफादार पुरानो शैलीको पार्टी कसरी विजयी भयो?

सुधारवादीहरूका लागि कठिन यात्रा

थाइल्याण्डको मिश्रित चुनावी प्रणालीले यहाँ ठूलो भूमिका खेल्यो। मतदाताले दुईवटा मतपत्रमा भोट हाल्छन्: एउटा आफ्नो क्षेत्रको उम्मेदवारलाई र अर्को मनपर्ने पार्टीलाई। त्यो भनेको नेपालकै एउटा पहिलो हुनेले जित्ने प्रत्येक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणालीजस्तो हो ।

राष्ट्रिय स्तरमा ‘पिपल्स पार्टी’ले करिब एक करोड मत पायो। यो भुमजाइथाईको ६० लाख मतभन्दा धेरै हो। तर, थाइल्याण्डमा ८० प्रतिशत सिटहरू स्थानीय क्षेत्रको प्रतिस्पर्धाबाट चुनिन्छन्।

यहीँ पिपल्स पार्टी कमजोर देखियो। यो नयाँ र सहरी क्षेत्रमा सीमित पार्टी हो। नेपालमा यसअघिको प्रतिनिधी सभा चुनावमा माओवादीले समानुपातिकमा धेरै सीट जितेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक्षमा ज्यादा सीट जितेको थियो । त्यहाँ पनि ठ्याक्कै त्यस्तै भयो । ग्रामीण भेगमा पिपल्स पार्टीको सञ्जाल बलियो छैन।

थाइल्याण्डका मतदाताले संरचनात्मक सुधारभन्दा पनि स्थिरता र परम्परालाई रोजेका छन्। सहरी क्षेत्रमा परिवर्तनको माग अझै जीवित छ। तर सुस्त आर्थिक वृद्धि, असमानता र राजनीतिक ध्रुवीकरण जस्ता मुख्य समस्याहरू भने अझै समाधान हुन बाँकी नै छन्।

चुनावको दिनसम्म पिपल्स पार्टीले अघिल्लो जित दोहोर्याउने विश्वास गरिएको थियो। युवाहरूको उत्साहजनक सहभागिता थियो। सर्वेक्षणले पार्टी नेता नथापोङ रुएङ्पान्यावुतलाई प्रधानमन्त्रीको पहिलो रोजाइमा राखेका थिए।

तर, चुनावको नतिजा सोचेभन्दा उल्टो आयो। पिपल्स पार्टीले बैंकक र वरपरका सहरहरूमा सबै सिट जिते पनि ग्रामीण क्षेत्रमा भने हार व्यहोर्यो। गाउँतिर अझै पनि पुराना पहुँचवाला नेता र राष्ट्रवादी मुद्दाहरूको प्रभाव बलियो देखियो।

अनुतिनको उदय

अनुतिनले अन्य पार्टीका पाका नेताहरूलाई आफ्नो पक्षमा पारे। सन् २०१९ मा ५१ सिट जितेको उनको पार्टी अहिले देशकै सबैभन्दा ठूलो शक्ति बनेको छ।

अनुतिनको पार्टीले सत्तामा हुनुको पूर्ण फाइदा उठायो। उसले गाउँगाउँमा आफ्ना मान्छेहरूलाई भर्ती गर्यो। अन्य पार्टीका ६४ जना प्रभावशाली सांसदहरूलाई आफ्नो पक्षमा पार्यो।

अनुतिनले तीनजना दक्ष ‘टेक्नोक्र्याट्स’लाई मन्त्री बनाएर पार्टीको छवि सुधारे। तर उनको जितको मुख्य आधार भनेको राजसंस्थाप्रतिको वफादारी र कट्टर राष्ट्रवाद नै रह्यो।

यसपटक सुधारवादीहरूका लागि कुनै ठोस एजेन्डा थिएन। सन् २०२३ मा सैन्य कु विरुद्ध जनतामा ठूलो आक्रोश थियो। तर यसपालि त्यस्तो कुनै लहर देखिएन। बरु, कम्बोडियासँगको सीमा विवादलाई अनुतिनले चुनावी अजेन्डा बनाए, जसले बैंकक बाहिरका मतदातालाई आकर्षित गर्यो।

थाइ प्रधानमन्त्री अनुतिन चानभिराकुल :

अनुतिनले कट्टर राष्ट्रवादी र राजसंस्था समर्थकहरूको मत बटुल्न सफल भए। अर्कोतर्फ, पूर्व प्रधानमन्त्री थक्सिन सिनावत्राको ‘फेउ थाई’ पार्टीको लोकप्रियता ह्वात्तै घट्यो।

बितेको दुई दशकमा पहिलो पटक थक्सिन सिनावत्रा चुनावी दौडको केन्द्रमा थिएनन्। भ्रष्टाचारको मुद्दामा उनी जेलमा छन्। उनको अभावमा पार्टीको लोकप्रियता ह्वात्तै घट्यो। फेउ थाई ७६ सिटमा खुम्चिनुले यो पार्टी अब कमजोर हुँदै गएको संकेत गर्छ।

रणनीतिमा चुक

केही विश्लेषकहरू सुधारवादी पार्टीको एउटा निर्णयलाई गलत मान्छन्। उनीहरूले गत सेप्टेम्बरमा अनुतिनलाई प्रधानमन्त्री बन्न समर्थन गरेका थिए। उनीहरूले संविधान संशोधनको बदलामा सो समर्थन दिएका थिए।

तर सरकारमा सामेल नभई समर्थन गर्दा अनुतिनलाई फाइदा पुग्यो। उनले सक्षम व्यक्तिहरूलाई मन्त्री बनाएर आफ्नो छवि सुधारे। सुधारवादीहरू भने आफ्ना आदर्शवादी समर्थकहरू माझ आलोचित बने।

अन्ततः सुधारवादीहरूका लागि सत्ताको बाटो निकै कठिन थियो। उनीहरूका धेरै नेताहरूमाथि प्रतिबन्ध लगाइएको छ। पार्टी दुई पटक विघटन भइसकेको छ।

यसपटक मतदाताको उत्साह पनि कम देखियो। सन् २०२३ मा ७५ प्रतिशत मतदान भएकोमा यसपालि ६५ प्रतिशत मात्रै भयो।

अब अनुतिनको बाटोमा कुनै अवरोध छैन। यदि उनले साना दलहरूसँग मिलेर काम गरे भने, उनले चार वर्षको पूर्ण कार्यकाल बिताउन सक्छन्। थाइल्याण्डमा २० वर्षदेखि कुनै पनि नागरिक नेताले यसो गर्न सकेका छैनन्।

अब के होला?

यो चुनावले के स्पष्ट पारेको छ भने, थाइल्याण्ड तत्कालै आफ्नो पुरानो अस्थिरताबाट मुक्त हुने छैन। मतदाताले संरचनात्मक सुधारभन्दा पनि स्थिरता र परम्परालाई रोजेका छन्।

सहरी क्षेत्रमा परिवर्तनको माग अझै जीवित छ। तर सुस्त आर्थिक वृद्धि, असमानता र राजनीतिक ध्रुवीकरण जस्ता मुख्य समस्याहरू भने अझै समाधान हुन बाँकी नै छन्।

यो निर्वाचनबाट समेत कुनै पनि पार्टीले एकल बहुमत (२५१ सिट) पाउन सकेनन्। यद्यपि, १९४ सिटसहित अनुतिन सबैभन्दा बलियो अवस्थामा छन्। अब ‘भुमजाइथाई’ले ‘फेउ थाई’ र अन्य साना अनुदारवादी दलहरूसँग मिलेर सरकार बनाउने सम्भावना छ।

यो गठबन्धनसँग सहज बहुमत हुनेछ। उनीहरूलाई अदालती हस्तक्षेपको पनि डर छैन। त्यसैले यो सरकार पछिल्ला सरकारहरूभन्दा बढी टिकाउ हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्