राष्ट्रिय बीमा कम्पनीको नाफा १७ करोड ७२ लाख, अन्य कस्तो छ सूचक ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राष्ट्रिय बीमा कम्पनीको नाफा १७ करोड ७२ लाख, अन्य कस्तो छ सूचक ?



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सर्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ६०.३४ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले चालू आवको पुस मसान्तसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४४ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

बीमाशुल्क आर्जन र आम्दानीको अवस्था समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जनमा ४६.५८ प्रतिशतको संकुचन देखिएको छ । गत वर्ष १६ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले यस वर्षको पुस मसान्तसम्म ८ करोड ५८ लाख रुपैयाँ मात्र आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी १८.४५ प्रतिशतले घटेर ५४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ ।

आम्दानी घट्दा पनि कुल खर्च भने ३१.७९ प्रतिशतले बढेर ३६ करोड ६३ लाख रुपैयाँ नाघेको वित्तीय विवरणले देखाएको छ । लगानीबाट प्राप्त हुने आम्दानी पनि १८.४५ प्रतिशतले घटेर ३४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।

खर्च व्यवस्थापन र प्रतिशेयर आम्दानी कम्पनीले अभिकर्तालाई दिइने कमिशनमा भने ७९.६७ प्रतिशतको भारी कटौती गरेको छ । गत वर्ष ७८ लाख रुपैयाँ रहेको कमिशन रकम घटेर १५ लाख रुपैयाँमा झरेको छ ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी –इपीएस) मा पनि उच्च गिरावट आएको छ । गत वर्ष १३०.०२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ६६.४८ रुपैयाँमा कायम भएको छ ।

रिजर्भ र कोषको अवस्था कम्पनीको वित्तीय आधार भने मजबुत देखिएको छ । हाल २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको कुल सम्पत्तिको मूल्य २५ अर्ब २८ करोड रुपैयाँ भन्दा माथि रहेको छ ।

कम्पनीका स्पेशल रिजर्भमा ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ७० करोड ११ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्