डिजिटल सेवालाई एउटै छातामुनि ल्याउन एआई-समर्थित ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडाैं । नेपालमा छरिएर रहेका डिजिटल सेवाहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यका साथ एआई समर्थित एकीकृत डिजिटल इकोसिस्टम ‘ग्लोबल डायरी’ सञ्चालनमा आएको छ।
हाल बजारमा उपलब्ध जब पोर्टल, इ-कमर्स, न्यूज पोर्टल र बिजनेस डाइरेक्टरीहरूबीच समन्वय र विश्वसनीय सूचनाको अभाव देखिएका बेला यस प्लेटफर्मले नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय डिजिटल संरचनामा जोड्ने लक्ष्य राखेको छ।
ग्लोबल डायरीले विशेषगरी डिजिटल बजारीकरण, वेबसाइट व्यवस्थापन र एसईओमा व्यवसायीहरूले भोग्दै आएको उच्च लागतलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ।
यस प्लेटफर्ममार्फत व्यवसायीहरूले आफ्नो डिजिटल उपस्थितिलाई वेबसाइटकै स्तरमा पुर्याउन, बजारीकरणको खर्च घटाउन र ग्राहकसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्। त्यसैगरी, नागरिकहरूले प्रमाणित सेवा प्रदायकहरू खोज्न, उनीहरूको सेवाको समीक्षा हेर्न र आफ्नो आवश्यकता अनुसार सही निर्णय लिन सक्ने सुविधा प्राप्त गर्नेछन्।
यस इकोसिस्टमले सरकारी निकायहरूलाई पनि संरचनात्मक सञ्चारको विशेष सुविधा प्रदान गरेको छ। प्रमाणित आधिकारिक पेजहरू मार्फत सरकारी निकायले आफ्ना सूचना, कार्यक्रम र गतिविधिहरू सिधै नागरिकसम्म पुर्याउन सक्नेछन्। यसले सरकारी सूचनामा पारदर्शिता ल्याउनुका साथै डिजिटल सुशासन र नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ।
प्रविधिमार्फत आर्थिक र सामाजिक प्रभाव पार्ने उद्देश्य बोकेको ग्लोबल डायरीले साना तथा मध्यम वर्गका व्यवसायलाई लक्षित गरी किफायती डिजिटल बजारीकरणको विकल्प दिएको छ। यसले रोजगारी सिर्जना, डिजिटल सीपको विकास र विशेषगरी युवा पुस्ता (जेनजी) लाई भरपर्दो राष्ट्रिय डिजिटल प्लेटफर्म प्रदान गर्नेछ। कम्पनीका अनुसार स्थानीय व्यवसायहरू डिजिटल रूपमा सशक्त हुँदा यसले समग्र राष्ट्रिय अर्थतन्त्रमै दीर्घकालीन योगदान पुर्याउनेछ।
हाल सरकारी दर्ता प्रक्रिया पूरा गरी विभिन्न निकायहरूसँग समन्वय गरिरहेको यस प्लेटफर्मले छिट्टै बिजनेस डिजिटलाइजेशन टुल्स र परिष्कृत एआईका नयाँ विशेषताहरू विस्तार गर्ने जनाएको छ। ग्लोबल डायरीले आफ्नो इकोसिस्टममा आबद्ध हुनेहरूका लागि लक्की ड्रमार्फत स्मार्टफोन र स्मार्ट घडी जस्ता उपहारहरूका साथै कलेज एम्बेसडर प्रोग्राम र व्यवसायीहरूका लागि निःशुल्क डिजिटल मार्केटिङ तालिम जस्ता आकर्षक योजनाहरू पनि सार्वजनिक गरेको छ।













