नेपाल लाइफको व्यवसाय विस्तार आक्रामक: खुद बीमा शुल्क १५ प्रतिशतले बढ्यो, कुल आम्दानी ३५ अर्ब माथि
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तमा इन्स्याेरेन्सकाे खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत घटेको हाे ।
गत आर्थिक वर्षको ६ महिनामा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफामा केही संकुचन देखिए पनि कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमा शुल्क संकलनमा भने सुधार आएको छ। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १५.३७ प्रतिशतले बढेर २५ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशतले वृद्धि भई ३५ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीले यस अवधिमा दाबी भुक्तानीमा ठूलो रकम खर्चिएको छ। विवरण अनुसार खुद दाबी भुक्तानी ८.१९ प्रतिशतले बढेर ३० अर्ब ८८ करोड १ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानी र अन्य खर्चहरूमा भएको बढोत्तरीका कारण कम्पनीको कुल खर्च ९.०२ प्रतिशतले वृद्धि भई ३३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ पुगेको देखिन्छ।
वित्तीय विवरण अनुसार नेपाल लाइफको चुक्ता पूँजीमा ५ प्रतिशतको वृद्धि भई ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ति जगेडामा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ ६९.९९ प्रतिशतले घटेर ६७ करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) मा पनि गिरावट आएको छ। गत वर्ष ११.४१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले ७.११ रुपैयाँ कायम भएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १२४.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ।
समिक्षा अवधिमा ९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।













