व्यापार विस्तारमा हिमालयन एभरेष्टको फड्को, दावी भुक्तानीको चापले नाफामा गिरावट
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा आफ्नो व्यवसाय र कुल आम्दानीमा उल्लेख्य वृद्धि गरे पनि नाफामा भने ठूलो गिरावट बेहोरेको छ ।
कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष खुद नाफा ९०.१५ प्रतिशतले घटेर १ करोड ५७ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
दावी भुक्तानीको भारले खुम्चिएको मुनाफा कम्पनीको व्यवसाय र आम्दानी बढ्दा बढ्दै पनि नाफा घट्नुको मुख्य कारण बीमा दावी भुक्तानीमा आएको भारी वृद्धि देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको बीमा दावी भुक्तानी ६३ प्रतिशतले बढेर ९८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समयमा निर्जीवन बीमा क्षेत्रमा चरणबद्ध रूपमा परेका बीमा दावीहरूका कारण नाफा प्रभावित हुन पुगेको कम्पनीले उल्लेख गरेको छ । यस गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत १.२६ रुपैयाँमा झरेको छ ।
व्यवसाय विस्तारमा उत्साहजनक प्रगति नाफामा धक्का लागे पनि कम्पनीले आफ्नो बजार हिस्सा भने आक्रामक रूपमा विस्तार गरिरहेको देखिन्छ । कम्पनीको कुल आम्दानी २४.८१ प्रतिशतले वृद्धि भई १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । उक्त आम्दानी अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँ मात्र थियो ।
त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि २४.५० प्रतिशतको सुधार आएको छ । यस ६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ । जबकि गत वर्षको सोही अवधिमा ८२ करोड ८८ लाख रुपैयाँको मात्र व्यवसाय भएको थियो ।
मजबुत वित्तीय कोष र पुँजी संरचना वित्तीय रूपमा कम्पनीको जगेडा र कोषहरूको अवस्था भने सन्तोषजनक देखिएको छ । हाल २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको बीमा कोषमा १ अर्ब ८२ करोड ८ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
यसका साथै कम्पनीले जगेडा कोषमा ३० करोड ८४ लाख रुपैयाँ र महाबिपत्ति कोषमा १९ करोड २१ लाख रुपैयाँ सञ्चित राखेको विवरणमा उल्लेख छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।













