आईजीआई प्रुडेन्सियलको व्यापारमा १५ प्रतिशतको वृद्धि, नाफा खुम्चिँदा अन्य वित्तीय अवस्था कस्तो देखियो?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा केही खुम्चिए पनि अन्य सूचकहरूमा भने सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको हो।
भदौमा भएको राजनीतिक अस्थिरता र असोजमा भएको बाढी पहिरोका कारण दाबी भुक्तानीमा परेको दबाबले इन्स्योरेन्सको खुद नाफा २२६.५८ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. १४ करोड ३० लाख ९७ हजार खुद नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा रु. १८ करोड ११ लाख ३२ हजार खुद नोक्सानी बेहोरेको छ।
नाफा घटे पनि कम्पनीको व्यवसाय विस्तारमा भने सकारात्मक संकेत देखिएका छन्। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १५.१२ प्रतिशतले बढेर रु. ५७ करोड ६६ लाख पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानीमा ३.६१ प्रतिशतको सुधार भई रु. ९३ करोड २ लाख कायम भएको छ।
कम्पनीको इन्स्योरेन्स फन्ड (बीमा कोष) मा भने उल्लेख्य सुधार आएको छ। गत वर्षको तुलनामा यो कोष ८३.०९ प्रतिशतले वृद्धि भई रु. ७ अर्ब ७९ करोड ९० लाख पुगेको छ। यद्यपि, कम्पनीको कुल खर्च ७१.४८ प्रतिशतले बढेर रु. १ अर्ब १८ करोड नाघेका कारण नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) पनि नकारात्मक बनेको छ। अघिल्लो वर्ष रु. ९.४५ रहेको प्रतिशेयर आम्दानी अहिले ११.९६ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ रु. १७६.२५ रहेको छ भने चुक्ता पूँजी रु. ३ अर्ब २ करोड ९३ लाखमा स्थिर छ।
समिक्षा अवधिमा ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष भने १७ करोड ५३ लाख रुपैयाँ ऋणत्मक र महाबिपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ ।यस अवधिमा कम्पनीको बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ ।













