निर्जीवन बीमा क्षेत्रमा ’ब्ल्याक भदौ २३–२४’: २३ अर्बको भुक्तानीले नाफा ’निल’ ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निर्जीवन बीमा क्षेत्रमा ’ब्ल्याक भदौ २३–२४’: २३ अर्बको भुक्तानीले नाफा ’निल’ !



काठमाडौं । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको ’जेन–जी’ जनआन्दोलनले मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा मात्र नभई आर्थिक क्षेत्रमा पनि गहिरो प्रभाव पारेको छ ।

उक्त दुई दिनको प्रदर्शनका क्रममा भएका व्यापक तोडफोड, आगजनी र भौतिक क्षतिका कारण नेपालको निर्जीवन बीमा क्षेत्र अहिलेसम्मकै ठूलो आर्थिक दबाबमा परेको छ ।

सडकमा देखिएको युवाहरूको आक्रोशले बीमा कम्पनीहरूको वासलातमा ठूलो धक्का पुर्‍याउँदा यस वर्ष निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफा ऋणात्मक हुन पुगेको छ ।
आन्दोलनको क्षति र बीमा दाबीको चाङ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार यस आन्दोलनका कारण सिर्जना भएको भौतिक तथा अन्य क्षतिका लागि हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार २५५ वटा बीमा दाबी परेका छन ।

यी दाबीहरूको कुल रकम करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन नेपाली बीमा इतिहासकै ठूलो दाबीमध्ये एक हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार, सबैभन्दा बढी क्षति सम्पत्ति बीमातर्फ भएको छ । सम्पत्ति बीमातर्फ ६९५ वटा दाबी परेका छन्, जसको कुल रकम १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, मोटर बीमातर्फ २ हजार ३१५ वटा दाबी मार्फत ३ अर्ब ४४ करोड १० लाख रुपैयाँको माग भएको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबी (५५ करोड ४ लाख), परिवहन बीमातर्फ १२ वटा र अन्य विधामा ४४ वटा दाबी परेका छन् । हालसम्म कम्पनीहरूले करिब ४ अर्ब २ करोड रुपैयाँ दाबीकर्ताहरूलाई अग्रिम भुक्तानी गरिसकेका छन् ।

निर्जीवन बीमाको नाफामा असर
नेपालको बीमा इतिहासमै सबैभन्दा बढी बीमा दाबी पर्दा त्योसको असर भने बीमा कम्पनीको नाफामा देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को अपरिस्कृत वित्तीय विवरण अनुसार १४ वटा कम्पनीहरुमध्ये एक वटा कम्पनीले मात्र नाफा गरेको छ ।

निर्जीवन बीमा कम्पनीमा १.३८ अर्बको नाफाबाट ४१ लाखको घाटामा जेन–जी आन्दोलनको प्रत्यक्ष असर बीमा कम्पनीहरूको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफा अहिले ४१ लाख १५ हजार रुपैयाँले ऋणात्मक देखिएको छ ।

५ वटा कम्पनीहरू पूर्ण रूपमा घाटामा गएका छन् । तथ्याङ्क अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स १८ करोड ११ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७ करोड ८५ लाख, युनाइटेड अजोड १० करोड ६६ लाख, र सानिमा जिआईसी ९ करोड ५९ लाख रुपैयाँ घाटामा रहेका छन् । शिखर इन्स्योरेन्स पनि ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी १७ करोड ७२ लाख नाफा कमाए पनि यो गत वर्षको तुलनामा ६०.३४ प्रतिशतले कम हो ।

द ओरिएन्टल इन्स्योरेन्सले भने ठूलो दाबीका बाबजुद पनि १६ करोड २२ लाख नाफा कमाउन सफल भएको छ । प्रभु इन्स्योरेन्स मात्र यस्तो कम्पनी बनेको छ जसको नाफामा २.०१ प्रतिशतको झिनो वृद्धि देखिएको छ ।

पुनर्बीमा कम्पनीको साथ र आगामी चुनौती आन्दोलनको यो ठूलो जोखिमलाई धान्न नेपाल पुनर्बीमा कम्पनीले मुख्य भूमिका खेलेको छ । जेन–जी आन्दोलनको क्षतिका लागि नेपाल पुनर्बीमा कम्पनीमा हालसम्म २ हजार ५६० वटा दाबी परेका छन् । जसको कुल दायित्व १५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यसमध्ये पुनर्बीमा कम्पनीले २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी दिइसकेको छ ।

भदौ २३ र २४ को त्यो घटनाले बीमा क्षेत्रलाई नयाँ पाठ सिकाएको छ । एकातिर अर्बौँको दाबी भुक्तानीले सर्वसाधारण र व्यवसायीहरूलाई राहत मिलेको छ भने अर्कोतिर बीमा कम्पनीहरूको नाफामा परेको यो ऐतिहासिक धक्काले आगामी दिनमा बीमा शुल्क र जोखिम व्यवस्थापनका रणनीतिहरूमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्