कृत्रिम वर्षामा चीनको मोह: महत्वाकांक्षा कि जोखिम?
चीन आकाशबाट हुने वर्षालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ। तर, उसको यो योजना किन विवादास्पद छ र यसले वास्तवमै काम गर्छ त?
काठमाडौँ । सन् २०२५ मार्चको कुरा हो। चीनले उत्तरतर्फका आकाशमा ३० वटा विमान र ड्रोनको फौज उतार्यो। ती विमानले आकाशमा ‘सिल्भर आयोडाइड’का कणहरू छरे। जमिनबाट पनि २५० भन्दा बढी जेनेरेटरले रकेटमार्फत त्यस्तै कणहरू वायुमण्डलमा पठाए।
यो चीनको ‘स्पिङ रेन’ (वसन्त वर्षा) परियोजना थियो। खडेरीले पिरोलिएको उत्तरी क्षेत्रका बाली जोगाउन यो ठूलो कसरत गरिएको थियो। चिनियाँ अधिकारीका अनुसार यो अपरेसन सफल भयो र यसले ठूलो मात्रामा थप वर्षा गरायो।
वर्षाको दौड
सन् १९५० देखि नै चीनले ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षाको अभ्यास गर्दै आएको छ। हालैका वर्षमा ड्रोन र राडार प्रविधिको विकासले यसलाई अझ तीव्र बनाएको छ। अहिले चीनले आफ्नो आधाभन्दा बढी भूभागमा मौसम परिवर्तन गर्ने क्षमता राख्ने दाबी गर्छ।
२००८ को बेइजिङ ओलम्पिक होस् वा २०२१ को कम्युनिष्ट पार्टीको शताब्दी समारोह, चीनले चाहेको दिन मौसम सफा राख्न वा वर्षा गराउन यो प्रविधिको प्रयोग गर्दै आएको छ।
यो कसरी काम गर्छ?
यस प्रविधिमा ‘सिल्भर आयोडाइड’का साना कणहरू बादलमा पठाइन्छ। यी कणले बादलमा भएका अति चिसो पानीका थोपाहरूलाई हिउँको क्रिस्टलमा बदल्छन्। जब ती गह्रौँ हुन्छन्, तब हिउँ वा वर्षाका रूपमा जमिनमा झर्छन्। हिउँ मापन गर्न सजिलो हुने भएकाले धेरैजसो प्रयोग पहाडी क्षेत्रमा गरिन्छ।
चीनको यो महत्वाकांक्षाले छिमेकी देशहरूमा भने चिन्ता थपेको छ। विज्ञहरूका अनुसार यति ठूलो स्तरमा मौसमसँग खेल्दा क्षेत्रीय सुरक्षा र वातावरणमा असर पर्न सक्छ।
विशेषगरी तिब्बती पठारमा गरिने यस्ता प्रयोगले भारतसहितका छिमेकी देशसँगको जलस्रोत साझेदारीमा तनाव निम्त्याउन सक्ने भू-राजनीतिक विज्ञहरूको तर्क छ।
के यो साँच्चै प्रभावकारी छ?

वैज्ञानिकहरू माझ एउटा ठूलो प्रश्न अझै बाँकी छ– के यसले साँच्चै काम गर्छ?
अमेरिकाको इलिनोइ विश्वविद्यालयका प्रोफेसर रोबर्ट राउबर भन्छन्, “चीनका दाबीहरूलाई पुष्टि गर्ने पर्याप्त वैज्ञानिक तथ्याङ्क छैनन्।” कतिपय विज्ञहरू त चीनले दाबी गरेजस्तो वर्षा नभएको हुन सक्ने शंका गर्छन्।
कुनै पनि बादलले प्राकृतिक रूपमै वर्षा गराएको हो कि कृत्रिम विधिले भन्ने छुट्याउन निकै कठिन हुन्छ।
जलवायु परिवर्तनका कारण विश्वभर खडेरी बढ्दै जाँदा धेरै देशहरू ‘क्लाउड सिडिङ’तर्फ आकर्षित भएका छन्। तर, यसको अन्तर्राष्ट्रिय मापदण्ड र नीति भने अझै बनेको छैन।
चीनले यसलाई “मौसम विज्ञानमा विश्वकै नेतृत्व गर्ने” अवसरका रूपमा हेरेको छ। तर, स्वतन्त्र अनुसन्धानको अभावमा यो प्रविधि समाधान हो कि नयाँ समस्या, भन्ने बहस जारी छ।
















