जीवन बीमा ’उथलपुथल’को खल्लो खबर: ९ खर्बको व्यवसाय हुँदा पनि ४.७३ प्रतिशतले घट्यो नाफा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जीवन बीमा ’उथलपुथल’को खल्लो खबर: ९ खर्बको व्यवसाय हुँदा पनि ४.७३ प्रतिशतले घट्यो नाफा



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा नेपालका १४ जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफामा गिरावट आएको छ ।

कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो ६ महिनाको अवधिमा कम्पनीहरूले कुल ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७३ प्रतिशतले न्यून हो । गत वर्ष यही अवधिमा कम्पनीहरूले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

ठूला कम्पनीको नाफा घट्दा समग्रमा असर समग्र मुनाफा घट्नुमा बजारका ठूला र पुराना कम्पनीहरूको नाफामा देखिएको उच्च गिरावट मुख्य कारण बनेको छ । 

तथ्याङ्क अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ५२.०३ प्रतिशतले गिरावट आएको छ । जुन १४ बीमा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी रहेको छ । 

गत वर्ष ८० लाख ६५ हजार रुपैयाँ नाफा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको यो वर्ष घटेर ३८ लाख ६९ हजार रुपैयाँमा सिमित भएको छ । जीवन बीमामा यो कम्पनी सबैभन्दा कमजोर देखिएको छ । 

हिमालयन लाइफको ४५.०६ प्रतिशत, र नेपाल लाइफको २७.४५ प्रतिशतले घटेको छ । त्यसै गरी प्रभु महालक्ष्मी लाइफको नाफा २७.०७ प्रतिशत र मेट लाइफको ८.५६ प्रतिशतले ओरालो लागेको छ ।

यद्यपि, प्रतिकुल अवस्थाका बिच पनि ९ वटा कम्पनीहरूले भने आफ्नो मुनाफा बढाउन सफल भएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सबैभन्दा उच्च ५८.३६ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । एलआइसीले गत वर्षको ६ महिनामा १४ करोड १८ लाख रुपैयाँ नाफा गरेकोमा यो वर्ष बढेर २२ करोड ४५ लाख ५८ लाख रुपैयाँ नाफा गरेको छ । 

नाफाको अंकका आधारमा रिलायबल नेपाल लाइफ ३९ करोड ५८ लाख रुपैयाँ सहित सूचीको अग्रस्थानमा रहेको छ । गत वर्षको सोही अवधिमा ३५ करोड ३ लाख ९० हजार रुपैयाँ रहेको रिलायबलको नाफा यो वर्ष १२.९८ प्रतिशतले बढेको छ । 

साथै, सानिमा रिलायन्स लाइफको १९.२१ प्रतिशतले, एशियन लाइफको ५.३ प्रतिशतले, सूर्यज्योति लाइफको २.२९ प्रतिशतले, नेशनल लाइफको २.७६ प्रतिशतले, सन नेपाल लाइफको १.११ प्रतिशतले र आईएमई लाइफको १.०४ प्रतिशतले नाफा बढेको छ । 

सबैभन्दा कम नाफा बढ्नेमा भने सिटिजन लाइफल रहेको छ । जसको ६ महिनाकोको अवधिमा ०.२४ प्रतिशतले मात्र नाफा बढेको छ । सिटिजनको गत आवको ६ महिनामा २३ करोड ९ लाख रुपैयाँ नाफा गरेकोमा यो वर्ष सामान्य बढेर १३ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

व्यवसाय विस्तारको अवस्था नाफामा केही गिरावट देखिए तापनि बीमा व्यवसायको पहुँच र बीमाशुल्क संकलन भने विस्तार भइरहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा १४ वटा बीमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या १ करोड १४ लाख ५५ हजार २३५ पुगेको छ । कम्पनीहरूले देशभरबाट कुल १४ बीमा कम्पनीले ९ खर्ब ४३ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्  ।

प्रादेशिक ट्रेण्ड र सक्रियता बीमा व्यवसायमा बागमती प्रदेशको एकलौटी वर्चस्व देखिएको छ । कुल बीमाशुल्कको करिब ४४ प्रतिशत अर्थात् ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ बागमती प्रदेशबाट मात्र संकलन भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशबाट १५ अर्ब १५ करोड र कोशी प्रदेशबाट ११ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्