आयो महाशिवरात्रि, यसको बढ्दो महत्व र संसारभरको फैलावटले के सन्देश दिन्छ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आयो महाशिवरात्रि, यसको बढ्दो महत्व र संसारभरको फैलावटले के सन्देश दिन्छ ?



काठमाडौँ । जब फागुनको आकाशमा चन्द्रमा अस्ताउँदै जान्छ र रात गाढा हुँदै जान्छ, तब संसारभरका लाखौँ मानिस एउटै ध्वनिको लयमा समाहित हुन्छन्- ‘ॐ नम: शिवाय’ ।

यस वर्ष फागुन ३ (आगामी आइतबार) मनाइने महाशिवरात्रि केवल एउटा धार्मिक पर्व मात्र होइन, यो त अध्यात्म, संस्कृति र मानव आस्थाको एउटा विशाल वैश्विक संगम हो । विश्वभरका प्रमुख शिव मन्दिरहरूमा महाशिवरात्रि भव्य तीर्थयात्रा, रातभरको जागरण र मेलाहरूका साथ मनाइन्छ। यसका सबैभन्दा महत्त्वपूर्ण उत्सवहरू नेपाल, भारत र मौरिससमा हुने गर्दछन्।

शास्त्रीय मान्यता अनुसार, फागुन कृष्ण चतुर्दशीको रात नै भगवान् शिव र पार्वतीको विवाह भएको थियो। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, यस रात पृथ्वीको उत्तरी गोलार्द्धमा ऊर्जाको प्रवाह यस्तो हुन्छ कि मानिसको मेरुदण्ड सीधा रहँदा (जाग्राम बस्दा) प्राकृतिक रूपमै आध्यात्मिक लाभ मिल्ने बताइन्छ।

‘वरात्रि केवल उपवास बस्ने दिन होइन, यो त आफूभित्रको अहंकारलाई ‘भष्म’ पारेर नयाँ चेतना जागृत गर्ने अवसर हो। यसरी हेर्दा, महाशिवरात्रि एउटा मन्दिरमा मात्र सीमित नरहेर आजको आधुनिक विश्वमा मानिसको आन्तरिक शान्ति र सांस्कृतिक गौरवको प्रतीक बनेको छ।

त्योभन्दा ठूलो कुरा, अन्धकार रातमा मनाइने ‘महांकाल’ शिवले आधुनिक विज्ञानलाई ‘अन्धकार शक्ति’ को खोज गर्ने ठूलो स्पेस दिइरहेको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्ल्याक–होल’ भनेर सुक्ष्मतामा अध्ययन त थालेका छन्, तर महांकाल त ती अनगिन्ति ‘ब्ल्याक–होल’हरुको पनि ‘समष्टि स्वरुप’ हो ।

यो महाअस्तित्व नै चेतनाको उच्चतम प्रकाट्य हो भन्ने अबको संसारले बुझ्न थालेको छ । यसैले शिवरात्रि अब नेपाल, भारत र दक्षिण एसियाको सीमाभन्दा बाहिर पनि फैलिन थालेको छ ।

महाशिवरात्रिको अवसरमा संसारका प्रमुख तीर्थस्थलहरूमा लाग्ने विशेष मेला र तिनको महत्व यसप्रकार छ :

१. पशुपतिनाथ

काठमाडौंमा बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिर शिवरात्रिको समयमा एउटा भिन्नै संसार जस्तो देखिन्छ। शिवरात्रिमा यसलाई सबैभन्दा महत्त्वपूर्ण स्थल मानिन्छ । जहाँ ठुलो मेला भर्न भारतका साधुहरूसहित लाखौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

भारतका विभिन्न कुना र नेपालका दुर्गम पहाडबाट आएका हजारौँ नागा साधु र अघोरीहरूले पशुपति क्षेत्रलाई जीवन्त बनाउँछन्।

पशुपति भनेको भगवान शिवको पनि आदि स्वरुप हो । हिन्दु ग्रन्थहरुमा संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरिएको ‘पाशुपतास्त्र’देखि आदिम योगसूत्रका रुपमा व्याख्या गरिने ‘पाशुपत योग’सम्मले यसलाई शिवको ‘मूल’ स्वरुपका रुपमा दर्शाउँछ ।

पशुपतिनाथलाई शिवको ‘शीर’ मानिन्छ। पौराणिक कथा अनुसार जब पाण्डवहरू स्वर्ग जाँदै गर्दा शिवलाई खोज्न आए, शिवले राँगोको रूप धारण गरेर जमिनमा अलप हुन खोजे। सोही राँगोको शिरको भाग पशुपतिनाथमा प्रकट भएको मानिन्छ।

यस तीर्थको दार्शनिक पक्षचाहीँ यहाँ पशु अर्थात् इन्द्रीयहरूको दासबाट मुक्ति पाएर पति अर्थात् मालिक बन्ने यात्राको प्रतीक हो। यो मुक्ति र मोक्षको ‘आदि–पीठ’ हो।

यहाँ चार प्रहरको पूजा र बागमती आरतीको भव्यता लोभलाग्दो हुन्छ। पशुपतिनाथ नजिकै अवस्थित गुह्येश्वरी मन्दिर एक प्रमुख शक्तिपीठ हो। माता सतिदेवीको अङ्गपतनबाट बनेका शक्ति पीठमध्ये भारतको आसाममा रहेको ‘कामाख्या’ र काठमाडौंको गुह्येश्वरीलाई प्रमुख मानिन्छ ।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले करिब १० लाख भक्तजन र ६ हजारभन्दा बढी साधुसन्तहरूको व्यवस्थापन गरेको छ। भलै ८ लाखजति भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनहरूलाई गाँजा र धतुरोको सेवनमा प्रतिबन्ध लगाइए पनि साधुहरूको ‘धुनी’ र भजनले पाशुपत क्षेत्रमा छुट्टै आध्यात्मिक सुगन्ध भर्ने छ ।

२. काशी विश्वनाथ

भारतको वाराणसीमा रहेको विश्वनाथमा ‘शिवको जन्ती’ र गंगाको आरतीले प्रसिद्ध बनाउँछ । वाराणसी वा काशीलाई शिवको आफ्नै नगरी (राज्य) मानिन्छ। यहाँ शिवरात्रिमा भगवान् शिवको विवाहको उत्सव मनाइन्छ, जसलाई ‘शिव बारात’ भनिन्छ।

काशी विश्वनाथ मन्दिरमा भव्य शोभायात्रा र ‘शिव बारात’ निकालिन्छ । काशीको गल्ली–गल्लीबाट निस्कने शिवको जन्तीमा मानिसहरू भूत, प्रेत र विभिन्न पौराणिक पात्रको भेषमा नाच्छन्।

त्यसपछि भोलिपल्टको सूर्योदयअघि नै गंगा नदीको किनारमा हजारौँ मानिसले ‘डुबुल्की’ मारेर बाबा विश्वनाथलाई जल चढाउँछन्। यस वर्ष यहाँ १० लाखभन्दा बढी भक्तजनका लागि विशेष ‘जिग–ज्याक’ लाइनको व्यवस्था गरिएको छ, ताकि दर्शन सुलभ होस्।

३. महाकालेश्वर

उज्जैनको महाकालेश्वर मन्दिरलाई ‘समयको मालिक’ (महाकाल) मानिन्छ। यहाँ महाशिवरात्रि एक दिन मात्र होइन, नौ दिनअघिदेखि ‘शिव नवरात्र’का रूपमा मनाइन्छ।

यहाँको प्रसिद्ध ‘भष्म आरती’ संसारमै अद्वितीय छ। मानव चिताको भष्मले शिवको अभिषेक गरिने यो दृश्य हेर्न संसारभरबाट मानिसहरू त्यहाँ आउँछन्। प्राचीन भारतीय गणितज्ञ, खगोलशास्त्री एवम् ज्योतिषी वराहमीहिरले यही महाकालेश्वरलाई धर्तिको केन्द्र मानेर ‘विक्रम संवत्’को सुरुआत गरेका थिए, जुन नेपालको आधिकारीक संवत् (क्यालेन्डर) हो ।

यस पटक उज्जैनमा ‘विक्रमोत्सव’ नामक ठुलो मेलाको आयोजना गरिएको छ, जहाँ हर्बल उत्पादनको प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। ‘विक्रमोत्सव’ पनि तिनै वराहमीहिरको जमानाका उज्जैनका महाराजा विक्रमादीत्यको नाममा आयोजना हुन्छ । राजा भर्तृहरिका भाइ विक्रमादीत्यलाई ‘सिंहाशन बत्तिसी’ र ‘विक्रम–बेताल’का कहानीहरुमा बडो सुन्दर वर्णन गरिएको छ ।

४. केदारनाथ

भारतका १२ ज्योतिर्लिंगहरू यस्तो ज्यामितीय नक्सामा फैलिएका छन्, जसले ब्रह्माण्डीय शक्तिलाई सन्तुलनमा राख्छ। केदारनाथ ती ज्योतिर्लिंगहरूको शीर्ष भागमा छ, जहाँ शिवको पीठको भाग अर्थात् पशुपतिनाथमा प्रकट भएको शीरको पछाडीको भाग प्रकट भएको मानिन्छ । त्यहाँदेखि दक्षिणको रामेश्वरमसम्मको एउटै देशान्तरमा रहेका मन्दिरहरूले प्राचीन इन्जिनियरिङ र खगोलशास्त्रको अद्भुत नमुना पेश गर्छन्।

उत्तराखण्ड हिमालयमा भगवान् केदारनाथको सम्मानमा महाशिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण, पवित्र र हर्षोल्लासपूर्ण पर्वको रूपमा मनाइन्छ। तर अत्यधिक हिमपातका कारण फागुन महिनामा केदारनाथ मन्दिर बन्द रहन्छ । त्यसैले हिउँदभरि भगवान् केदारनाथको मूर्ति उखीमठको ओङ्कारेश्वर मन्दिरमा राखिन्छ ।

शिवको यही हिउँदकालीन निवासमा शिवरात्रि मेला सम्पन्न हुन्छ । भक्तजनहरू उखीमठमा भेला भई रातभर प्रार्थना (जागरण), उपवास र भगवान् केदारनाथको मूर्तिमा जल, दूध तथा घ्यूले अभिषेक गर्छन्। मन्त्रोच्चारण र भजनकीर्तनले वातावरण भक्तिमय बन्छ। उखीमठमा बद्री—केदार मन्दिर समितिले शिवरात्रीकै दिन केदारनाथको मूल मन्दिरको ढोका (कपाट) खुल्ने आधिकारिक मितिको घोषणा पनि गर्छ ।

५. मौरिसस

काठमाडौंबाट करीब ६,२०० किलोमिटर टाढा अफ्रिकी महाद्वीपको दक्षिणी सीमा नजिकै पर्ने सानो टापुराष्ट्र मौरिसस (जहाँ १३ लाखजति मान्छे बस्छन्) त्यस्तो स्थान हो, जहाँ ‘भारतवर्षभन्दा बाहिर शिवरात्रीलाई भव्य र ठूलो उत्सवका रुपमा मनाउँछ ।

त्यहाँ ग्रान्ड बेसिन (गङ्गा तलाउ) छ । लाखौँ भक्तजनहरू भारतको ‘काँवर यात्रा’जस्तै सजावट गरिएका बाँसका संरचना (काँवर) बोकेर यस पवित्र तालसम्म खाली खुट्टा पैदल यात्रा गर्छन्।

यो उत्सवलाई भारत र नेपालपछिको सबैभन्दा ठुलो मानिन्छ। यहाँका झन्डै आधा जनसङ्ख्या शिवरात्रिमा सहभागी हुन्छन्। त्यहाँको मङ्गल महादेव (सागर शिव मन्दिर)मा १०८ फिट अग्लो शिवको मूर्ति रहेको छ, जुन उत्सवको मुख्य आकर्षणको केन्द्र हो।

६. नेपालका अन्य तीर्थहरू

पशुपतिनाथबाहेक मूलत: नेपालका हरेक गाउँ टोल र बस्ति–बस्तिमा बनेका अनेकौं शिवालय र शिव मन्दिरहरुमा शिवरात्रीको ‘धूनि’ बल्छ । मानिसहरु भव्य रुपमा शिव–पार्वतीको पूजा गर्छन् । हवन आदि गर्छन् ।

पशुपतिनाथ मुख्य केन्द्र भए तापनि नेपालका हरेक कुना–कन्दरासम्म शिवरात्रिको बेला ‘अध्यात्मको महासागर’ ओर्लिन्छ । यसमा पनि केही प्रमुख तीर्थहरु यस्ता छन्, जसको वर्णन छुटाउन मिल्दैन ।

त्यसमा खोटाङको हलेसी महादेव एह कुन् । यो मन्दिरलाई ‘पूर्वको पशुपति’ भनिन्छ। शिवरात्रिमा यहाँ ठुलो मेला लाग्छ। यो ठाउँ हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। भनिन्छ, भस्मासुरबाट बच्न शिव यहीँको गुफामा लुकेका थिए।

अछामको बैजनाथ धाम अर्को केन्द्र हो । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बैजनाथमा शिवरात्रिमा विशाल मेला लाग्छ। यो नेपालका चार प्रमुख धामहरूमध्ये एक मानिन्छ र यहाँको ऐतिहासिक तथा धार्मिक महत्त्व निकै गहिरो छ।

म्याग्दीको गलेश्वर महादेव मन्दिर एउटै विशाल चट्टान वा शिलामाथि अवस्थित छ। करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको यो शिलालाई ‘चक्रशिला’ भनिन्छ। महाशिवरात्रिका दिन यो विशाल शिलामा खुट्टा राख्नु मात्रै पनि आध्यात्मिक रूपमा पुण्यदायक मानिन्छ। सतीदेवीको ‘गला’ पतन भएको भनिने यो स्थान मुक्तिनाथको प्रवेशद्वार पनि हो।

शिवरात्रिका दिन भक्तजनहरूले पवित्र कालीगण्डकी नदीमा स्नान गरी त्यहीँको जल गलेश्वर महादेवलाई अर्पण गर्छन्। कालीगण्डकीमा पाइने ुसालिग्रामु र शिवको संगम यहाँ देख्न पाइन्छ। त्यहाँ म्याग्दी, पर्वत, बागलुङ मात्र नभई मुस्ताङ जाने पर्यटक र छिमेकी देश भारतका तीर्थयात्रीहरू पनि शिवरात्रिको मौकामा मेला भर्न आइपुग्छन्।

महोत्तरीको जलेश्वर महादेव मन्दिरको विशेषता के छ भने, यहाँको शिवलिंग सधैँ पानीभित्र डुबेको हुन्छ। शिवरात्रिको दिन मात्र विशेष पूजाका लागि पानी बाहिर निकालिन्छ, जुन दृश्य हेर्न नेपाल र भारतका हजारौँ भक्तजन त्यहाँ आउँछन्।

धरानको पिण्डेश्वर महादेव मन्दिरमा शिवरात्रिको दिन जल चढाउने भक्तजनको सागर नै ओर्लिन्छ। यहाँ सप्तकोशी नदीको पवित्र जल चढाउने परम्परा छ।

बुटवलको सिद्धबाबा मन्दिर र पश्चिम नेपालका विभिन्न ‘बोलबम’ धामहरूमा शिवरात्रिमा भव्य मेला लाग्छ। यहाँको सिद्धबाबा मन्दिरलाई मनोकामना पूरा हुने केन्द्र मानिन्छ।

पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा अर्को अनुपम उदाहरण हो । प्राकृतिक गुफाभित्रको शिवलिंगमा पूजा गर्न शिवरात्रिमा हजारौँ पर्यटक र स्थानीयहरूको घुइँचो लाग्छ। यसबाहेक भक्तपुरको डोलेश्वर महादेव, गुल्मीको वैतरणी धाम, चन्द्रागिरिको भालेश्वर महादेवमा पनि अहिले भव्य मेला लाग्न थालेको छ ।

७. भारतका अन्य तीर्थहरू

उत्तराखण्डमा पर्ने हरिद्वार/ऋषिकेशमा ‘हर की पौरी’ र नीलकण्ठ महादेव मन्दिरमा शिवरात्रिका बेला विशाल स्नान र पूजा कार्यक्रम हुन्छ। असमको शिवसागरमा ऐतिहासिक ‘शिव डोल’ मन्दिर छ, जहाँ ४ दिने मेला लाग्छ। कर्नाटकको महाबलेश्वर र मुरुदेश्वर मन्दिरहरूमा ठुलो जमघट हुन्छ। आन्ध्र प्रदेशको श्रीशैलममा ‘ब्रह्मोत्सवलु’ का साथ शिवरात्रि मनाइन्छ।

८. ईशा योग केन्द्र

दक्षिण भारतको तमिलनाडूमा पर्ने कोइम्बटोरमा सद्गुरुको नेतृत्वमा रहेको ईशा योग केन्द्रले महाशिवरात्रिलाई आधुनिक समयको सबैभन्दा ठुलो आध्यात्मिक कार्यक्रमको रुपमा मनाउन थालेको छ । यहाँ परम्परागत पूजासँगै लेजर लाइट शो र संगीतको संयोजन हुन्छ।

उक्त योग केन्द्रमा ११२ फिट अग्लो ‘आदियोगी’को प्रतिमा बनाइएको छ । त्यही प्रतिमाको मुनि लाखौँ मानिस रातभर जाग्राम बसेर ध्यान र नृत्य गर्छन्।

यस वर्ष भारतीय रक्षा मन्त्री राजनाथ सिंहको उपस्थितिमा हुने यो कार्यक्रम २४ भाषाहरूमा प्रत्यक्ष प्रसारण गरिँदैछ, जसलाई विश्वका १४ करोड मानिसले हेर्ने अनुमान छ।

९. कटासराज

पाकिस्तानको कटासराज र श्रीलङ्काको मुन्नास्वरम जस्ता तीर्थहरूले शिवको महिमा भूगोल र राजनीतिभन्दा माथि रहेको प्रमाणित गर्छन्। रावणले पूजा गरेको मुन्नास्वरम होस् वा सतीको वियोगमा शिव रोएको आँसुबाट बनेको कटासराजको तलाउ, यी स्थलहरूले इतिहासको हजारौँ वर्षको उथलपुथललाई साक्षी राखेका छन्।

पाकिस्तानको राजधानि इलमावाददेखि केही दक्षिणमा पर्ने चकवालमा कटासराज मन्दिर छ। पौराणिक कथा अनुसार, सती देवीको मृत्युमा शिव रुँदा उनका आँसुबाट यहाँ एउटा तलाउ बनेको थियो ।

पाकिस्तानका अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बी र भारतबाट जाने तीर्थयात्रीहरूले शिवरात्रिका अवसरमा यहाँ विशेष मेला भर्छन्। पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको यो मन्दिर ‘धार्मिक आस्थाले भूगोल चिन्दैन’ भन्ने एउटा प्रमाण पनि हो । यो मन्दिर जटिल राजनीतिक सम्बन्धका बावजुद आस्थाको एउटा बलियो सेतु बनेको छ।

१०. विदेशी भूमि

शिवरात्रिको राप र ताप अब दक्षिण एसियामा मात्र सीमित छैनस यसले अफ्रिकाको सहारा मरुभूमिदेखि ल्याटिन अमेरिकाको उष्णकटिबंधीय जङ्गलसम्म आफ्नो प्रभाव विस्तार गरिसकेको छ।

हिन्दुहरु भारतवर्ष बाहिर पनि छन् र उनीहरु शिवरात्री मनाउँछन् भन्ने उदाहरण मौसिसबाट देखिइसक्यो । यसबाहेक दक्षिण अफ्रिकाको डर्बनस्थित ‘हिन्दु टेम्पल सोसाइटी’ मा रातभर भजन र जागरण हुन्छ। यहाँका ‘नागेश्वर’ मन्दिरहरूमा विशेष पूजा गरिन्छ।

केन्याको नैरोबीमा रहेको ‘शिव मन्दिर’ र ‘हिन्दु युनियन’ ले ठुलो मेलाको आयोजना गर्छन्। यहाँका स्थानीय अफ्रिकी नागरिकहरू पनि अचेल योग र ध्यानका कारण शिवरात्रिका कार्यक्रममा सहभागी हुन थालेका छन्।

घानाको राजधानी आकरामा रहेको हिन्दु मन्दिरमा शिवरात्रि निकै विशेष हुन्छ। यहाँको रोचक पक्ष के छ भने, मन्दिरका धेरैजसो भक्तहरू र पुजारीहरू स्थानीय घानावासी (अफ्रिकी मूलका) हुन्। उनीहरूले आफ्नै शैलीमा ढोलक बजाएर र भजन गाएर रातभर जागरण बस्छन्।

तान्जानिया र युगान्डाका पुराना हिन्दु मन्दिरहरूमा अभिषेक र विशेष आरतीको व्यवस्था गरिन्छ। विशेषगरी दारेसलाम र काम्पलामा ठुलो जमघट हुन्छ।

उता, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा १८औँ र १९औँ शताब्दीमा पुगेका ुगिरमिटियाु मजदुरहरूले शिवको भक्तिलाई जीवित राखेका छन्। ट्रिनिडाडको ‘गङ्गा धारा’ र शिव मन्दिरहरूमा शिवरात्रि निकै भव्य हुन्छ। त्यहाँ ८५ फिट अग्लो शिवको मूर्ति छ। भक्तजनहरूले रातको चारै प्रहरमा दूध र जलले अभिषेक गर्छन् र स्थानीय भोजपुरी लयका भजनहरू गाउँछन्।

गुयाना र सुरीनामका हिन्दू समुदायले नदी किनारमा शिवको बालुवाको लिंग बनाएर पूजा गर्ने र रातभर जागरण बस्ने परम्परा छ। ब्राजिल र अर्जेन्टिनामा पनि अहिले शिवरात्रि मनाउने चलन बढेको छ ।

पछिल्लो समय ‘योग’ र ‘वेदान्त’को बढ्दो प्रभावका कारण साओ पाउलो र ब्युनस आयर्स जस्ता सहरहरूमा इशा योग केन्द्र वा आर्ट अफ लिभिङ मार्फत हजारौँ स्थानीय बासिन्दाहरू शिवरात्रिमा ध्यान र सत्सङ्गमा सहभागी हुन्छन्। यहाँ शिवलाई ‘आदि–योगी’ र ‘नटराज’ (नृत्यका देवता) का रूपमा बढी सम्मान गरिन्छ।

११. डायस्पोरा उत्सवहरू

अमेरिकाका विभिन्न शहरहरुमा अहिले विशाल शिवालय, पशुपतिनाथ आदिका मन्दिरहरु निर्माण भएका छन् । न्यूयोर्कको दिव्य धाम मन्दिर र ठमेल, क्यालिफोर्नियाको ईशा इन्स्टिच्युट अफ इनर–साइन्सेस, कनेक्टिकट र फ्लोरिडातिर ‘रेभेन्स विङ योग’ र ‘लोटस पोन्ड सेन्टर’, टेक्सासको शिवालय जस्ता केन्द्रहरूमा विशेष कीर्तन र रात्रि जागरण कार्यक्रम हुन्छन् ।

सिंगापुर र मलेसियाका तमिल हिन्दू मन्दिरहरूमा ठुलो सामुदायिक जमघट र अभिषेक कार्यक्रमहरू हुन्छन् । इन्डोनेसियाको बाली प्रान्तमा स्थानीय बालिनिज हिन्दू मन्दिरहरूमा पनि शिवरात्रि मनाइने गरिन्छ।


प्रतिक्रिया दिनुहोस्