ट्रम्पको 'अमेरिका फस्ट' नीतिलाई सीको काउन्टर: ५३ देशलाई दियो 'शून्य भन्सार' सुविधा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्पको ‘अमेरिका फस्ट’ नीतिलाई सीको काउन्टर: ५३ देशलाई दियो ‘शून्य भन्सार’ सुविधा



काठमाडौं । चीनले ५३ देशका लागि शून्य भन्सार शुल्क (ट्यारिफ) सुविधा लागू गर्ने ऐतिहासिक घोषणा गरेको छ।

चीनले आगामी मे १, २०२६ देखि ५३ अफ्रिकी देशहरूबाट आयात हुने सामानमा सम्पूर्ण भन्सार शुल्क हटाउने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार ३९औँ अफ्रिकी संघ शिखर सम्मेलनको अवसरमा पठाएको शुभकामना सन्देशमा यस्तो घोषणा गरेका हुन्।

“आगामी मे १, २०२६ देखि चीनले आफूसँग कूटनीतिक सम्बन्ध भएका ५३ वटा अफ्रिकी मुलुकहरूका लागि शून्य भन्सार सुविधा पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनेछ,” राष्ट्रपति सीले भने।

यो कदमले अफ्रिकाको आर्थिक विकास र व्यापार विस्तारका लागि नयाँ ढोका खोल्ने विश्वास लिइएको छ। चीनले ‘ग्रीन च्यानल’ जस्ता संयन्त्रमार्फत अफ्रिकी निर्यातको पहुँचलाई अझ व्यापक बनाउने र संयुक्त आर्थिक साझेदारी सम्झौताहरूमा जोड दिने रणनीति समेत लिएको छ।

ट्रम्पको भन्सार नीति र विश्व व्यापारमा दबाब

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘अमेरिका फस्ट’ नीति अन्तर्गत आक्रामक भन्सार रणनीति अघि सारेका बेला चीनले अफ्रिकी मुलुकहरूलाई ‘शून्य भन्सार’ को सहुलियत दिने घोषणा गरेको हो।

ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म र अन्य मुलुकबाट हुने आयातमा १० देखि २० प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी दिँदै आएका छन्।

ट्रम्पको यो कडा संरक्षणवादी नीतिले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच पुनः ‘व्यापार युद्ध’ निम्त्याउने जोखिम बढाएको छ। अमेरिकाले आफ्नो बजारमा विदेशी वस्तुको पहुँचलाई कडा बनाउँदै लैजाँदा विश्वभरको आपूर्ति शृङ्खला प्रभावित हुने र यसले नेपाल जस्ता साना अर्थतन्त्र भएका देशहरूमा समेत महँगी र औद्योगिक लागत बढाउने देखिन्छ।

अमेरिकाले ढोका बन्द गर्ने नीति लिइरहँदा चीनले भने अफ्रिका र अन्य उदीयमान बजारलाई समेटेर आफ्नो व्यापारिक पकड बलियो बनाउने रणनीति लिएको छ।

अमेरिकामाथिको निर्भरता घटाउँदै ‘ग्लोबल साउथ’ मा केन्द्रित हुने चीनकाे लक्ष्य

ट्रम्पको भन्सार नीतिको काउन्टरमा चीनले अमेरिका बाहेकका देशहरूसँग व्यापार बढाउन नयाँ रणनीति अपनाएको देखिन्छ। अमेरिकाले ढोका बन्द गर्दै गर्दा चीनले अफ्रिका, दक्षिण अमेरिका र दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूसँगको व्यापारिक सम्बन्धलाई थप खुकुलो र मजबुत बनाउँदै लगेको छ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउने र ग्लोबल साउथका उदीयमान अर्थतन्त्रहरूलाई आफ्नो पक्षमा पार्ने चीनको रणनीति स्पष्ट देखिन्छ

५३ अफ्रिकी देशहरूलाई शून्य भन्सारको सुविधा दिनु यसै रणनीतिको एक हिस्सा हो। यसका साथै चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत विकासोन्मुख देशहरूको पूर्वाधारमा लगानी बढाएर ती देशहरूको बजारमा आफ्नो पकड बलियो बनाइरहेको छ।


प्रतिक्रिया दिनुहोस्