सन् २०२५ मा क्रिप्टो भुक्तानी ८५ प्रतिशतले वृद्धि, मानव तस्करमा क्रिप्टोको प्रयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सन् २०२५ मा क्रिप्टो भुक्तानी ८५ प्रतिशतले वृद्धि, मानव तस्करमा क्रिप्टोको प्रयोग



काठमाडौं । विश्वव्यापी रूपमा संगठित अपराधका स्वरूपहरू बदलिँदै जाँदा मानव बेचबिखन गिरोहहरूले क्रिप्टोकरेन्सीलाई आफ्नो मुख्य वित्तीय हतियार बनाउन थालेका छन् ।

अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी ’चेनएनालाइसिस’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२५ मा शंकास्पद मानव बेचबिखन सञ्जालहरूलाई गरिएको क्रिप्टो भुक्तानी अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढेको पाइएको छ ।

ब्लकचेन डाटाको मसिनो विश्लेषण गर्दा सार्वजनिक लेजरहरूमा सयौं मिलियन डलर बराबरका अवैध कारोबारहरू ट्रेस भएका छन्, जसले मानव बेचबिखनको बढ्दो ’डिजिटलीकरण’ लाई पुष्टि गर्दछ ।

दक्षिणपूर्वी एसिया: अपराधको नयाँ ’इकोसिस्टम’
प्रतिवेदनका अनुसार यो अवैध गतिको केन्द्रविन्दु दक्षिणपूर्वी एसिया बनेको छ । त्यहाँ स्क्याम कम्पाउन्ड (ठगी केन्द्र), अवैध अनलाइन जुवा र चिनियाँ भाषाका मनी लन्डरिङ सञ्जालहरू मिलेर एउटा भयानक ’आपराधिक इकोसिस्टम’ निर्माण गरेका छन् ।
यी सञ्जालहरूले मुख्यत: तीन क्षेत्रमा क्रिप्टो प्रयोग गरिरहेका छन् । जसमा अन्तर्राष्ट्रिय एस्कर्ट तथा वेश्यावृत्ति सेवा, वैदेशिक रोजगारीको प्रलोभन देखाउने श्रम एजेन्ट र बाल यौन दुव्र्यवहार सामग्रीका विक्रेता रहेको छ ।

यस सञ्जालको पहुँच विश्वव्यापी देखिएको छ । सेवाहरू दक्षिणपूर्वी एसियामा केन्द्रित भए पनि भुक्तानी गर्ने ग्राहकहरू उत्तर तथा दक्षिण अमेरिका, युरोप र अस्ट्रेलियासम्म फैलिएका छन् ।

टेलिग्राम र स्टेबलकोइनको दुरुपयोग

अपराधीहरूले पीडित भर्ती गर्न र भुक्तानी समन्वय गर्न ’टेलिग्राम’ जस्ता मेसेजिङ एपलाई मुख्य सञ्चार माध्यम बनाएको प्रतिवेदनमा उल्लेख छ ।

अवैध रकमलाई सुरक्षित राख्न र छिटो नगदमा रूपान्तरण गर्न उनीहरूले ’स्टेबलकोइन’ र चिनियाँ मनी लन्डरिङ समूहको सहायता लिने गरेका छन् । सन् २०२५ मा मात्रै यस्ता अवैध क्रिप्टो प्रवाह करिब १६.१ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।

विशेष गरी एस्कर्ट सेवाहरूमा ठूलो रकमको कारोबार हुने गरेको छ । जहाँ झन्डै आधा ट्रान्सफर १० हजार डलरभन्दा बढीको भएको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानका क्रममा सीमापार यात्रा प्याकेज र भीआईपी सेवाका लागि ३० हजार डलरसम्मको क्रिप्टो शुल्क तोकिएको भेटिएको छ ।

’डाटा एन्ट्री’ को नाममा आधुनिक दासता

मानव बेचबिखनको सबैभन्दा डरलाग्दो पक्ष ’श्रम प्लेसमेन्ट एजेन्ट’ हरूको भूमिका देखिएको छ । उनीहरूले सामाजिक सञ्जालमा म्यानमार वा कम्बोडियामा ’कस्टमर सर्भिस’ वा ’डाटा एन्ट्री’ को आकर्षक काम र उच्च तलबको विज्ञापन गर्छन् ।

१ हजारदेखि १० हजार डलरसम्मको ’भर्ती शुल्क’ क्रिप्टोमार्फत बुझाएर त्यहाँ पुग्ने युवाहरू अन्तत: स्क्याम कम्पाउन्डमा बन्धक बनाइने गरेको प्रतिवेदनमा छ । त्यहाँ उनीहरूलाई रोमान्स स्क्याम (प्रेमको नाटक गरी ठगी) र नक्कली लगानी योजनाहरू चलाउन बाध्य पारिने गरिएको सर्वजनिक भएको छ ।

चेनएनालाइसिसका अनुसार केही भर्तीकर्ताहरूले टेलिग्राममै नक्कली कागजात बनाउने र कामदारलाई लुकीछिपी सीमा पार गराउनेबारे छलफल गरेको प्रमाण समेत फेला परेको छ ।

बाल यौन दुव्र्यवहार र डार्क वेबको चुनौती
प्रतिवेदनले बाल यौन दुव्र्यवहार सामग्री सञ्जालमा पनि संगठित वित्तीय ढाँचा फेला पारेको छ । यहाँ साना रकमका (१०० डलरभन्दा कम) धेरै कारोबारहरू हुने गरेका छन् ।

जसले ’सब्सक्रिप्सन मोडल’ (सदस्यता शुल्क) बाट व्यवसाय चलिरहेको संकेत गर्छ । ट्र्याकिङबाट बच्न अपराधीहरूले बिटक्वाइन जस्ता मुख्यधारका क्रिप्टोबाट मोनेरो जस्ता गोपनीयतामा केन्द्रित ’प्राइभेसी कोइन’ तर्फ रकम सार्ने गरेको देखिएको छ ।

जुलाई २०२५ मा बेलायती प्रहरीको सहयोगमा चेनएनालाइसिसले डार्क वेबको एउटा ठूलो सीएसएएम वेबसाइट पत्ता लगाएको थियो । जसले ५ हजार ८०० भन्दा बढी क्रिप्टो ठेगाना प्रयोग गरी ५ लाख ३० हजार डलरभन्दा बढी कमाएको थियो ।


प्रतिक्रिया दिनुहोस्