मध्यपूर्वमा अमेरिकी मिसाइल र लडाकु विमानको ओइरो, जेनेभा वार्ता कि युद्धको शंखघोष ?
काठमाडौँ । स्विट्जरल्याण्डको जेनेभामा मंगलबार इरानसँग हुन लागेको निर्णायक वार्ताअघि अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति नाटकीय रूपमा बढाएको छ।
इरानलाई परमाणु कार्यक्रमका मुद्दामा दबाब दिन र वार्ता असफल भएको खण्डमा आक्रमणका विकल्पहरू तयार राख्न अमेरिकाले जल र थल दुवै क्षेत्रमा ठूलो संख्यामा सैन्य शक्ति परिचालन गरेको छ।
बेलायतमा रहेका अमेरिकी वायुसेनाका लडाकु विमान र इन्धन भर्ने ट्याङ्करहरूलाई मध्यपूर्वको नजिक सारिएको र पछिल्ला केही हप्ताहरूमा २५० भन्दा बढी अमेरिकी कार्गो विमानहरूले जोर्डन, बहराइन र साउदी अरेबियामा सैन्य उपकरणहरू पुर्याएकाे सीएनएनले उल्लेख गरेकाे छ।
जोर्डनको मुवाफाक साल्ती एयर बेसमा मात्रै १२ वटा एफ-१५ आक्रमणकारी विमानहरू तैनाथ गरिएको स्याटेलाइट तस्बिरहरूले देखाएका छन्। यस्तै, यसअघि नै क्षेत्रमा रहेको ‘यूएसएस अब्राहम लिंकन’ सँगै अब ‘यूएसएस जेराल्ड फोर्ड’ स्ट्राइक ग्रुप पनि मध्यपूर्वतर्फ अघि बढेको छ।
ट्रम्पको अडान र ‘सत्ता परिवर्तन’ को चर्चा
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा ‘सत्ता परिवर्तन’ सबैभन्दा उत्तम विकल्प हुन सक्ने बताउँदै आएका छन्। सोमबार उनले आफू मंगलबारको वार्तामा अप्रत्यक्ष रूपमा सहभागी हुने जानकारी दिएका छन्।
ट्रम्पले इरानले युरेनियम संवर्धन नरोकेमा इरानका लागि धेरै नराम्रो दिन आउने चेतावनी समेत दिएका छन्। अमेरिकाको तर्फबाट स्टिभ विट्कोफ र जारेड कुश्नरले वार्ताको नेतृत्व गर्नेछन् भने इरानको प्रतिनिधित्व विदेशमन्त्री अब्बास अराक्चीले गर्नेछन्।
अमेरिकी प्रशासनले इरानमा सैन्य बल प्रयोग गर्ने तयारी गरे पनि वर्तमान शासन ढलेपछि त्यसको विकल्प को हुने भन्नेमा अझै स्पष्टता भने छैन। विदेशमन्त्री मार्को रुबियोले पनि इरानमा शासन परिवर्तन भएमा कसले नेतृत्व लिन्छ भन्ने कसैलाई थाहा नभएको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर निकायहरूका अनुसार शासन ढलेको अवस्थामा कट्टरपन्थी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले सत्ता कब्जा गर्न सक्ने र त्यो अमेरिकाका लागि थप चुनौतीपूर्ण हुन सक्ने आँकलन गरिएको छ।
आक्रमणका सम्भावित लक्ष्य र क्षेत्रीय चिन्ता
यदि वार्ता असफल भएमा अमेरिकाले इरानी परमाणु केन्द्रहरूका साथै आईआरजीसीको मुख्यालय र अन्य सैन्य अखडाहरूमा आक्रमण गर्न सक्ने चर्चा छ।
यसमा इजरायलसँगको संयुक्त अपरेशनको सम्भावना समेत रहेको छ। यद्यपि, खाडी मुलुकहरूले भने अमेरिकी सैन्य कदमले पूरै क्षेत्रलाई अस्थिर बनाउने भन्दै कूटनीतिलाई नै प्राथमिकता दिन आग्रह गरिरहेका छन्।
इरानको जवाफी तयारी
जेनेभा वार्ताको २४ घण्टाअघि मात्र इरानले पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ। इरानी सेनाले जमिन, जल र वायु मार्गबाट सैन्य अभ्यास गर्दै आफ्नो प्रतिरक्षा प्रणाली बलियो रहेको सन्देश दिएको छ।
इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल अब्दुलरहिम मुसावीले ट्रम्पलाई चेतावनी दिँदै इरानसँगको भिडन्तले विश्वलाई नै कठोर पाठ सिकाउने दाबी गरेका छन्।













