रुस-युक्रेन शान्ति वार्ता निष्कर्ष विहीन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रुस-युक्रेन शान्ति वार्ता निष्कर्ष विहीन



एजेन्सी । रुस र युक्रेनबीच जारी चार वर्षे युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाको मध्यस्थतामा स्विट्जरल्याण्डको जेनेभामा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षविहीन टुंगिएको छ ।

मङ्गलवार अबेरसम्म र बुधवार दुई घण्टा चलेको यस वार्तामा सहभागी पक्षहरूले छलफल “कठिन” रहेको बताएका छन् ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले वार्ताप्रति आशावाद व्यक्त गरे तापनि रुसी र युक्रेनी टोलीले भने मुख्य मुद्दाहरूमा अझै ठूलो मतभेद रहेको संकेत गरेका छन् । विशेषगरी क्षेत्रीय अखण्डता र युद्धविरामका सर्तहरूमा दुवै देश आ–आफ्नै अडानमा अडिग देखिएका छन् ।

रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्कीले वार्ता चुनौतीपूर्ण भए तापनि छलफल ‘व्यावसायिक’ भएको र अर्को बैठक छिट्टै बस्ने बताएका छन् । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई पक्षबीचको दृष्टिकोणमा रहेको भिन्नताका कारण वार्ता “सहज नरहेको” टिप्पणी गरे ।

यद्यपि, युक्रेनी वार्ताकार रुस्तम उमेरभले भने केही सकारात्मक संकेत दिँदै छलफल “सारभूत र सघन” भएको दाबी गरे । उनले भने, “यो एक जटिल कार्य हो जसमा सबै पक्षबीच तालमेल मिल्न समय लाग्छ, त्यसैले अहिल्यै सबै विवरण सार्वजनिक गर्न मिल्दैन ।”

वार्ता सकिनुअघि राष्ट्रपति जेलेन्स्कीले रुसमाथि अन्तिम चरणमा पुग्न लागेको वार्तालाई जानीजानी लम्ब्याउन खोजेको आरोप समेत लगाएका थिए ।

ट्रम्पको दबाब र युक्रेनको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न कूटनीतिक पहलको नेतृत्व गरिरहेका छन्, तर उनी वार्तामा भइरहेको ढिलाइप्रति असन्तुष्ट देखिएका छन् । सोमबार मात्र ट्रम्पले युक्रेनलाई “छिटो वार्ताको टेबुलमा आउन” चेतावनी दिएका थिए ।

ट्रम्पको उक्त भनाइप्रति असहमति जनाउँदै जेलेन्स्कीले आफ्नो देशलाई मात्र सम्झौताका लागि दबाब दिनु “अन्यायपूर्ण” हुने बताएका छन् । युक्रेनी पक्षको बुझाइमा रुसको पूर्ण आक्रमण सुरु भएको चार वर्ष बितिसक्दा पनि मस्कोका मागहरू र युक्रेनले चाहेको “न्यायोचित शान्ति” बीच ठूलो खाडल छ ।

डोनबास र आणविक केन्द्र

मस्कोले युक्रेनको पूर्वी क्षेत्र डोनबास (डोनेट्स्क र लुहान्स्क) मा पूर्ण नियन्त्रण कायम गर्नुपर्ने माग राख्दै आएको छ । तर, युक्रेनले आफ्नो सार्वभौम भूभाग र रणनीतिक सहरहरू रुसलाई सुम्पन नसकिने अडान दोहोर्‍याउँदै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सञ्चारमाध्यम एक्सियोससँग कुरा गर्दै डोनबास सुम्पने कुनै पनि योजनालाई युक्रेनी जनताले जनमत संग्रहबाट अस्वीकार गर्ने स्पष्ट पारेका छन् ।

वार्ताको अर्को पेचिलो विषय ‘जापोरीझिया आणविक ऊर्जा केन्द्र’ बनेको छ । युरोपको यो सबैभन्दा ठूलो आणविक केन्द्र सन् २०२२ देखि रुसी नियन्त्रणमा छ । युक्रेनले यसको फिर्ती चाहेको छ र यसको व्यवस्थापनमा अमेरिकासँग सहकार्य गर्न सकिने प्रस्ताव राखेको छ, जसमा रुस सहमत हुने सम्भावना न्यून देखिएको छ ।

यसअघि गत जनवरीमा अबु धाबीमा भएको वार्तामा केही कैदीबन्दीहरूको आदानप्रदान भएको थियो । बुधबारको बैठकपछि राष्ट्रपति जेलेन्स्कीले पुनः अर्को चरणको कैदी साटासाट हुन सक्ने संकेत भने दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्