आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस: देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ। विसं २००७ को ऐतिहासिक क्रान्ति सफल भई निरंकुशताको अन्त्य भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ।
नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्तिको गौरवपूर्ण दिनको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।
निरंकुश जहानियाँ राणा शासनविरुद्धको बलिदानीपूर्ण संघर्षपछि प्राप्त प्रजातन्त्रको जगमा नै नेपालको पछिल्लो राजनीतिक विकासक्रम अगाडि बढेको हो। यही फागुन ७ को जगमा टेकेर २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना र २०६३ सालमा लोकतन्त्रको प्राप्ति भएको थियो।
प्रजातन्त्रकै जगमा २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरियो। यसैको निरन्तरता स्वरूप २०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट नयाँ संविधान घोषणा भई हाल कार्यान्वयनमा रहेको छ।
नेपालका सबै ठूला राजनीतिक परिवर्तनको प्रस्थानविन्दु भएकाले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै यस दिनले दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट समेत गरेका छन् ।
साथै, राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सो ऐतिहासिक कार्यमा योगदान पुर्याउन आम नागरिकलाई अपिल समेत गरेका छन्।













