एपस्टीन काण्ड: पूर्व बेलायती राजकुमार एण्ड्रयू पक्राउ
एजेन्सी । बेलायतका पूर्व राजकुमार एण्ड्रयू माउन्टबेटन-विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ। यौन अपराधका दोषी जेफ्री एपस्टीनसँगको सम्बन्धलाई लिएर विवादमा तानिएका पूर्व शाही सदस्यमाथि यो कारबाहीलाई ‘ऐतिहासिक’ मानिएको छ।
एण्ड्रयूले एपस्टीनसँगको मित्रताका कारण गत वर्ष नै आफ्नो शाही पद र उपाधि गुमाइसकेका थिए। यसै महिनाको सुरुमा बकिङ्घम प्यालेसले एण्ड्रयूले एपस्टीनलाई गोप्य सूचना दिएको भन्ने रिपोर्टहरूको अनुसन्धानमा राजा चार्ल्स तृतीयले प्रहरीलाई “सहयोग” गर्ने बताएको थियो।
एण्ड्रयूले भने आफूमाथि लागेका आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएका छन्।
‘कानुनले आफ्नो बाटो तय गर्नुपर्छ’: राजा
आफ्ना भाइको गिरफ्तारीपछि राजा चार्ल्स तृतीयले एक विज्ञप्ति जारी गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनले भनेका छन्, “एण्ड्रयू माउन्टबेटन-विन्डसरको गिरफ्तारी र सार्वजनिक पदको दुरुपयोगको आशंकाबारे सुन्दा म अत्यन्तै चिन्तित छु। अब यस विषयमा उचित अधिकारीहरूद्वारा निष्पक्ष र पूर्ण प्रक्रियाका साथ अनुसन्धान हुनेछ, जसमा मेरो पूर्ण समर्थन रहनेछ।”
राजाले “कानुनले आफ्नो बाटो तय गर्नुपर्छ” भन्दै अनुसन्धान जारी रहँदा थप टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्। उनले आफ्नो परिवार कर्तव्य र सेवामा समर्पित रहने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
गणतन्त्रवादी समूहको माग
बेलायती राजतन्त्र विरोधी समूह ‘रिपब्लिक’ ले यस गिरफ्तारीको स्वागत गरेको छ। समूहका कार्यकारी निर्देशक ग्राहम स्मिथले आफूहरूले नै यसअघि एण्ड्रयूविरुद्ध निजी तवरमा मुद्दा चलाउन पहल गरेको दाबी गरे।
स्मिथले भने, “प्रहरीले सबै प्रमाणहरूको सुक्ष्म अनुसन्धान गर्नुपर्छ। राजा चार्ल्स र राजकुमार विलियमले पनि एण्ड्रयूलाई बचाउनुको कारण र उनीहरूलाई थाहा भएको सत्य सार्वजनिक गर्नुपर्छ।”
राजतन्त्रका लागि ‘अत्यन्तै क्षतिकारक’
राजनीतिक विश्लेषक माइकल वाल्करका अनुसार यो घटना बेलायती राजतन्त्र र समग्र प्रणालीका लागि “अत्यन्तै क्षतिकारक” छ। शाही परिवारले नैतिक कारणले भन्दा पनि जनसम्पर्क बिग्रिने डरले मात्र एण्ड्रयूलाई पछाडि हटाएको उनले टिप्पणी गरे ।
“शाही परिवार सधैं घटनाभन्दा एक कदम पछि देखिन्छ। उनीहरू नैतिक रूपमा आक्रोशित भएर भन्दा पनि लाजमर्दो अवस्थाबाट बच्नका लागि मात्र दुरी कायम गरिरहेका छन्,” वाल्करले भने।
सामान्यतया, कुनै पनि व्यक्तिलाई बिना अभियोग निश्चित समयसम्म मात्र हिरासतमा राख्न पाइन्छ। सरकारले यस मामिलामा प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न दिने संकेत गरेको छ। उता, अमेरिकी कंग्रेसमा समेत एण्ड्रयूले एपस्टीनबारे आफूलाई थाहा भएका कुराहरूका लागि बयान दिनुपर्ने माग उठ्न थालेको छ।













