३ आश्विन २०८३, शनिबार

८ प्रतिशत ब्याजदरसहित आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्री खुला



काठमाडौं । सुरक्षित लगानी र निश्चित प्रतिफल खोजिरहेका लगानीकर्तालाई लक्षित गर्दै आइसिएफसि फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि आफ्नो नयाँ ऋणपत्रको बिक्री खुल्ला गरेको छ। कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी सात वर्ष अवधिको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बजारमा ल्याएको हो ।

५ लाख कित्ताका लागि आवेदन आह्वान फाइनान्सले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम भएका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । यसमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरूलाई बिक्री गरिनेछ ।

बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले लगानी गर्न पाउनेछन्, जसमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको स्रोतले जनाएको छ ।

आवेदन दिने प्रक्रिया र सीमा लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा २ लाख कित्तासम्म तोकिएको छ । यो ऋणपत्रमा लगानी गर्न चाहनेहरूले छिटोमा फागुन १४ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

दीर्घकालीन लगानीको सुरक्षा २०८९ सालमा परिपक्व हुने यो ऋणपत्रले दीर्घकालीन रूपमा बचत गर्न चाहने र सेयर बजारको उतारचढावभन्दा स्थिर ब्याजदरमा रुचि राख्ने लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पूँजीगत आधार बलियो बनाउन यस्ता उपकरणहरू समय–समयमा बजारमा ल्याउने गर्दछन्।