निर्यातमा भारत र आयातमा चीन केन्द्रित : नेपालको व्यापार संरचना कति सुरक्षित ?
शीर्ष १० मुलुकसँगको व्यापार ९२% पुगेको अवस्थामा नेपालले आपूर्ति शृंखला जोखिम र बजार निर्भरता दुवैसँग जुध्नुपर्ने अवस्था देखिन्छ। दश वर्षमा व्यापार सघनता बढ्दै जाँदा निर्यात बजार संकुचित र आयात निर्भरता गहिरिँदै गएको तथ्यांकले देखाउँछ।
काठमाडौँ । नेपालको वैदेशिक व्यापारको पछिल्लो तस्वीर हेर्दा अर्थतन्त्रको संरचनात्मक निर्भरता झन् गहिरिँदै गएको स्पष्ट देखिन्छ।
भन्सार विभागको तथ्यांकले निर्यात भारतमा अत्यधिक केन्द्रित हुँदै गएको र आयाततर्फ चीन तथा सीमित अन्य मुलुकहरूमा निर्भरता बढ्दै गएको संकेत गर्छ। विश्वव्यापी व्यापारिक प्रवृत्ति आपूर्ति शृंखला विविधीकरणतर्फ उन्मुख भइरहेका बेला नेपालको व्यापार ढाँचा भने उल्टै संकुचित र जोखिमप्रवण बन्दै गएको देखिन्छ।
नेपालले गर्ने कुल निर्यातको झण्डै ८२ प्रतिशत भारतमै जाने गरेको तथ्यले निर्यात संरचना एकल बजारमा निर्भर बनेको पुष्टि गर्छ।
अन्य विकसित बजारहरूको भूमिका क्रमशः घट्दो देखिन्छ । अमेरिकाले ७ प्रतिशतभन्दा कम, जर्मनीले २ प्रतिशतभन्दा कम, बेलायतले करिब १ प्रतिशत मात्रै नेपाली वस्तु खरिद गर्छन्।
जापान, फ्रान्स, यूएई र अस्ट्रेलियाले चीनभन्दा बढी नेपाली सामान किन्ने भए पनि कुल निर्यातमा उनीहरूको हिस्सेदारी अत्यन्तै सानो छ। निर्यात बजारको यस्तो संकुचनले प्रतिस्पर्धात्मकता विस्तारभन्दा भौगोलिक निकटता र खुला सीमाको लाभमा आधारित व्यापार ढाँचा अझै कायम रहेको देखाउँछ।
आयात संरचनाले पनि उस्तै निर्भरता देखाउँछ। कुल आयातको ५६ प्रतिशत भारतबाट, करिब २१ प्रतिशत चीनबाट, ६ प्रतिशत अर्जेन्टिनाबाट र ३.६५ प्रतिशत यूएईबाट आयात हुने गरेको छ। ऊर्जा, औद्योगिक कच्चा पदार्थ, मेसिनरी र उपभोग्य वस्तुहरूमा नेपाल बाह्य आपूर्तिमा निर्भर छ।
यसमध्ये पेट्रोलियम पदार्थले व्यापार असन्तुलनमा निर्णायक भूमिका खेलिरहेको छ। बितेको सात महिनामा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धन आयातमै रु. १ खर्ब १९ अर्ब ५६ करोड खर्च भएको छ, जुन कुल आयातको १०.६४ प्रतिशत हो।
अन्य पेट्रोलियम पदार्थ जोड्दा यो हिस्सा करिब ११.३० प्रतिशत पुग्छ। यी वस्तुहरू मुख्यतः भारतबाट आयात हुने भएकाले भारतसँगको व्यापार उच्च देखिन्छ; यदि पेट्रोलियम आयात हटाएर हेर्ने हो भने भारतबाट हुने गैर–पेट्रोलियम आयात कुल आयातको करिब ४५ प्रतिशतमा सीमित हुन्छ। यसले ऊर्जा निर्भरता नै भारतसँगको व्यापारिक असन्तुलनको मुख्य चालक भएको संकेत गर्छ।
अर्जेन्टिनाको उछाल
नेपालको व्यापार नक्सामा अर्जेन्टिनाको उछाल विशेष रूपमा उल्लेखनीय छ। खाने तेल उद्योगका लागि कच्चा पदार्थ आयातका कारण नेपालबाट करिब १७ हजार किलोमिटर टाढा रहेको अर्जेन्टिना अहिले तेस्रो ठूलो व्यापार साझेदार बनेको छ। साउनदेखि माघसम्म भटमासको तेल रु. ५९ अर्ब १४ करोड र सूर्यमुखी तेल रु. ६ अर्ब ८६ करोड बराबर आयात भएको छ।
पपकर्न खाने मकै, राज्मा, वाइन र चनाको आयातले पनि व्यापार आकार बढाएको छ। एक दशकअघि कुल व्यापारमा १.३ प्रतिशत हिस्सा रहेको अर्जेन्टिना अहिले ५.१२ प्रतिशत पुगेको छ, जुन पछिल्ला दस वर्षमा सबैभन्दा ठूलो उछाल हो। यसले नेपालमा मूल्य अभिवृद्धि उद्योगभन्दा पुनः निर्यात–आधारित प्रशोधन उद्योगको विस्तार भएको संकेत गर्छ।
शीर्ष साझेदारमा केन्द्रित
शीर्ष व्यापार साझेदारहरूसँग व्यापार केन्द्रित हुने प्रवृत्ति पनि बलियो बन्दै गएको छ। एक दशकअघि शीर्ष १० मुलुकसँग करिब ८७ प्रतिशत व्यापार हुने गरेकोमा अहिले यो बढेर करिब ९२ प्रतिशत पुगेको छ।
भारत र चीनलाई हटाएर बाँकी आठ देशसँगको व्यापार हिस्सा भने दशकभर लगभग स्थिर रहेको छ- १३.९० प्रतिशतबाट करिब १४.३० प्रतिशत। यसले व्यापार विविधीकरणको प्रयासभन्दा व्यापार सघनता बढेको देखाउँछ। शीर्ष साझेदारहरूको सूचीमा केही परिवर्तन भए पनि संरचनागत निर्भरता भने यथावत् छ।
चीनसँगको व्यापार हिस्सा १० वर्षअघि १४.५८ प्रतिशत रहेकोमा अहिले करिब १८.३० प्रतिशत पुगेको छ। चीनबाट आयात तीव्र गतिमा बढे पनि निर्यात अत्यन्त न्यून रहनु व्यापार असन्तुलनको अर्को आयाम हो। चीन नेपालका लागि उत्पादन आपूर्तिकर्ता बनेको छ तर बजारका रूपमा विस्तार हुन सकेको छैन।
निर्यात बजारको ऐतिहासिक तुलना गर्दा संरचनात्मक परिवर्तन अझ स्पष्ट हुन्छ। एक दशकअघि नेपालको कुल निर्यातमध्ये ५५.४० प्रतिशत भारतमा जाने गर्थ्यो भने अमेरिकाले साढे १३ प्रतिशतभन्दा बढी नेपाली वस्तु खरिद गर्थ्यो। जर्मनी र बेलायतले झण्डै ५ प्रतिशतको हाराहारीमा सामान किन्थे भने टर्की र फ्रान्स पनि महत्वपूर्ण बजार थिए।
अहिले भने निर्यात भारतमा अत्यधिक केन्द्रित भएको छ। धागो निर्यातका कारण महत्त्वपूर्ण बनेको टर्की बजार कमजोर बनेको छ, बरु भन्सार तथ्यांकअनुसार टर्कीभन्दा भुटानले बढी नेपाली सामान खरिद गर्न थालेको छ। यसले उद्योग संरचना र बजार पहुँच दुवैमा परिवर्तन भएको देखाउँछ।
उल्टो बाटो
व्यापार अर्थशास्त्रमा निर्भरता, निकटता र तुलनात्मक लाभ तीन प्रमुख निर्धारक मानिन्छन्। नेपाल–भारत व्यापार खुला सीमा, मुद्रा विनिमय स्थिरता र भौगोलिक निकटताका कारण स्वाभाविक रूपमा उच्च छ। तर निर्यातको अत्यधिक एकाग्रता दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिन्छ।
अन्तर्राष्ट्रिय व्यापार विश्लेषकहरूले सधैं चेतावनी दिने “एकल बजार जोखिम” नेपालमा वास्तविकता बनिसकेको देखिन्छ- सीमा अवरोध, नीतिगत परिवर्तन वा मागमा गिरावटले सम्पूर्ण निर्यात क्षेत्र प्रभावित हुन सक्छ।
ऊर्जा आयातमा निर्भरता र प्रशोधन–आधारित पुनः निर्यात संरचनाले औद्योगिक गहिराइ अझै कमजोर रहेको संकेत गर्छ। खाने तेल कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गर्ने मोडेलले अल्पकालीन विदेशी मुद्रा आम्दानी बढाए पनि दीर्घकालीन औद्योगिक प्रतिस्पर्धात्मकता निर्माण गर्दैन भन्ने धारणा अर्थशास्त्रीहरूबीच व्यापक रूपमा व्यक्त हुँदै आएको छ। त्यसैगरी चीनबाट बढ्दो आयात र सीमित निर्यातले व्यापार घाटा संरचनागत रूपमा गहिरिँदै गएको देखाउँछ।
विश्वव्यापी आपूर्ति शृंखला पुनर्संरचनाको चरणमा रहेको वर्तमान समयमा नेपालले व्यापार विविधीकरण, उच्च मूल्यवर्द्धित उत्पादन विस्तार, ऊर्जा निर्भरता न्यूनीकरण र नयाँ बजार प्रवेश रणनीति अवलम्बन नगरे व्यापार संरचनाको वर्तमान केन्द्रित स्वरूप दीर्घकालीन आर्थिक स्थिरताका लागि चुनौती बन्ने देखिन्छ।
















