७ महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ११ अर्ब बीमाशुल्क, नेपाल लाइफको बर्चश्व कायमै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

७ महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ११ अर्ब बीमाशुल्क, नेपाल लाइफको बर्चश्व कायमै



काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ११ अर्ब ५ करोड ७८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सर्वजनिक गरेको पछिल्लो ७ महनिाको तथ्याङ्क अनुसार बीमा बजारमा नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा सबैभन्दा बलियो देखिएको छ ।

प्राधिकारणले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । यस कम्पनीको माघ महिनाको मात्रै बीमाङ्क रकम १५ अर्ब ५० करोड ५८ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा एलआइसी नेपाल देखिएको छ, जसले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएको छ भने हिमालयन लाइफ १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँसहित चौथो स्थानमा छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख, एशियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख र सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ संकलन गरेका छन् ।

सानीमा रिलायन्सले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपालले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् ।

माघमा मात्र ३ अर्ब ४७ करोड प्रथपम बीमाशूल्क

बीमा प्राधिकरणको विस्तृत विवरण अनुसार माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् भने १३ अर्ब २० करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्कबाट प्राप्त भएको छ ।
माघ महिनामा मात्रै कुल १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको देखिन्छ । यस अवधिमा जारी भएका कुल बीमालेखको संख्या ३ लाख ७० हजार ४०६ पुगेको छ भने कुल बीमाङ्क रकम ८ खर्ब ४० अर्ब ४४ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

हालसम्म सक्रिय रहेका बीमालेखको संख्या १ करोड १५ लाख १३ हजार ३७७ पुगेको प्रधिकारणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसले नेपाली बजारमा बीमाको पहुँच र विश्वास बढ्दै गएको पुष्टि गर्दछ ।

लघु बीमा र वैदेशिक रोजगार बीमाको योगदान

समग्र तथ्याङ्कमा लघु बीमा र वैदेशिक रोजगार म्यादी जीवन बीमाको पनि महत्वपूर्ण भूमिका देखिएको छ । तीनवटा लघु जीवन बीमा कम्पनीहरू (गार्डियन माइक्रो, क्रेष्ट माइक्रो र लिबर्टी माइक्रो) ले माघ मसान्तसम्म कुल ६ करोड ३७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल मार्फत २० करोड १४ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ । यी सबै क्षेत्रलाई समेट्दा समग्र जीवन बीमा क्षेत्रको कुल बीमाशुल्क संकलन १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँ पुगेको छ भने समग्र बीमाङ्क रकम १८ खर्ब ६८ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्