निर्वाचन सुरक्षा: ७२ घण्टाअघिदेखि सीमा नाका र ७ दिन अघिदेखि मदिरा बन्द, हवाई उडान भने सञ्चालनमै रहने
काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा रणनीतिलाई तीव्र पारेको छ। आयोगले निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका सबै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्न सरकारलाई निर्देशन दिएको हो।
निर्वाचन आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२’ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको छ। उक्त निर्देशिकाको खण्ड (झ) मा उल्लेख भएअनुसार मतदानको तीन दिनअघिदेखि नै सीमा नाकाहरू सिल गरिनेछ। यस कदमले निर्वाचनका समयमा हुन सक्ने अवाञ्छित गतिविधि र सीमापार सुरक्षा चुनौतीलाई नियन्त्रण गर्ने विश्वास लिइएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले मतदानको ७ दिन अगाडिदेखि नै मादक पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो रोक निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जारी रहनेछ। चुनावी प्रचार-प्रसार र मतदानका क्रममा हुन सक्ने झैझगडा र विवाद न्यूनीकरण गर्न मदिरा निषेधको निर्णय प्रभावकारी हुने आयोगको ठहर छ।
सीमा नाका बन्द गरिए तापनि मतदानका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन्। आयोगले हवाई यात्रुहरूको सहजताका लागि विशेष व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरेको छ। जसअनुसार, वैध टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि गन्तव्यसम्म पुग्नका लागि निजी सवारीसाधन वा सम्बन्धित एयरलाइन्सका गाडी प्रयोग गर्न बाधा पुर्याइने छैन।
निर्वाचनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन आयोगले गृह मन्त्रालयमार्फत सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
मतदानको दिन सुरक्षा निकायले तोकेका सवारीसाधन बाहेक अन्य सार्वजनिक यातायातको आवागमनमा रोक लगाइने भए तापनि अत्यावश्यक सेवा र हवाई यात्रुहरूका हकमा भने समन्वय गरी सहज वातावरण बनाइने आयोगले स्पष्ट पारेको छ।













