वर्क भिसामा बेलायतको कडाइ: ‘हेल्थ एण्ड केयर’ ५० प्रतिशत र दक्ष कामदार भिसामा ३६ प्रतिशत गिरावट
काठमाडाैं । संयुक्त अधिराज्य (बेलायत) सरकारले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार सन् २०२५ को डिसेम्बरसम्मको एक वर्षमा जारी गरिएको वर्क भिसाको संख्यामा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले गिरावट आएको छ।
पछिल्ला सरकारहरूले कानुनी आप्रवासनलाई सीमित गर्न र समुन्द्री मार्गमार्फत अवैध रूपमा आउने आप्रवासीहरूलाई रोक्न भिसा नियमहरूमा गरेको कडाइका कारण यो गिरावट देखिएको हो।
तथ्याङ्क अनुसार सन् २०२५ मा कुल १ लाख ६८ हजार कार्य भिसा जारी गरिएको छ, जुन सन् २०२४ को तुलनामा १९ प्रतिशत र सन् २०२३ को तुलनामा ५० प्रतिशतले कम हो। विशेष गरी ‘हेल्थ एण्ड केयर’ क्षेत्रमा दिइने भिसा संख्यामा ५० प्रतिशतले गिरावट आएको छ भने अन्य दक्ष कामदारको भिसामा ३६ प्रतिशतले कमी आएको छ।
नयाँ नियम अनुसार विद्यार्थीहरूले आफ्ना परिवारका सदस्य लैजान पाउने व्यवस्थामा गरिएको कडाइका कारण अध्ययन भिसामा पनि ठूलो प्रभाव परेको छ। अघिल्लो वर्षको तुलनामा विद्यार्थीका आश्रितहरूका लागि जारी गरिने भिसा संख्यामा उल्लेख्य गिरावट आएको छ। समग्रमा, कानुनी रूपमा बेलायत आउनेहरूको संख्यालाई नियन्त्रण गर्ने सरकारको लक्ष्य अनुरूप यी तथ्याङ्कहरू देखिएका छन्।
अवैध मार्गबाट हुने आगमनमा भने ७ प्रतिशतले वृद्धि भई ४६ हजार ४९७ पुगेको छ, जसमध्ये ८९ प्रतिशत साना छोटो दुरीका समुद्रि मार्ग मार्फत आएका हुन्।
यस अवधिमा कुल १ लाख ६२५ जनाले शरणका लागि आवेदन दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले कम हो। यद्यपि, आवेदनहरूको छिनोफानो गर्ने प्रक्रियामा तीव्रता दिइएको छ। सरकारले बेलायतमा बस्ने कानुनी अधिकार नभएका ९ हजार ९०० व्यक्तिहरूलाई जबरजस्ती फिर्ता पठाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो। स्वैच्छिक रूपमा फिर्ता हुनेहरूको संख्यामा पनि वृद्धि भएको छ।
प्रधानमन्त्री कियर स्टार्मरको लेबर सरकारमाथि आप्रवासन नियन्त्रण गर्न तीव्र दबाब परेको छ। नाइजेल फाराजको ‘रिफर्म यूके’ पार्टीले आप्रवासन विरोधी मुद्दालाई जोडतोडका साथ उठाएका कारण सरकारले नियमहरूमा थप कडाइ गर्ने संकेत दिएको छ। नेट माइग्रेसन (खुद आप्रवासन) मा देखिएको यो गिरावटले बेलायतको श्रम बजार र विशेष गरी स्वास्थ्य क्षेत्रमा कामदारको अभाव हुन सक्ने विज्ञहरूले चेतावनी समेत दिएका छन्।













