फागुन २१ को निर्वाचन : देशभर दुई लाख २१ हजार कर्मचारी परिचालन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फागुन २१ को निर्वाचन : देशभर दुई लाख २१ हजार कर्मचारी परिचालन



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले देशभर ठुलो सङ्ख्यामा कर्मचारी परिचालन गर्ने भएको छ।

१६५ वटै निर्वाचन क्षेत्रका लागि कुल २ लाख २१ हजार कर्मचारी खटाइने आयोगले जनाएको हो।

आयोगका अनुसार देशभरका ७७ जिल्लामा रहेका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फका लागि तोकिएका १४३ अस्थायी केन्द्रमा यी कर्मचारीहरू खटिनेछन्।

कर्मचारी व्यवस्थापनको मापदण्डबारे स्पष्ट पार्दै निर्वाचन आयोगका अनुसार :

५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा: ९ जना कर्मचारी।

५०० भन्दा कम मतदाता भएका मतदान केन्द्रमा: ८ जना कर्मचारी।

प्रशिक्षण र तयारी

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन आयोगले विशेष प्रशिक्षणको व्यवस्था गरेको छ। सुरुमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले तालिम दिनेछ।

त्यसपछि, सम्बन्धित केन्द्रमा खटिने अन्य कर्मचारीहरूलाई ती अधिकृतहरूले नै आवश्यक प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।

सामग्री ढुवानी सम्पन्न

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र अन्य चुनावी सामग्रीहरू बिहीबारसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। योसँगै निर्वाचनको प्रशासनिक र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

निर्वाचनका बेला हुन सक्ने आचारसंहिता उल्लंघन रोक्न र सुरक्षा व्यवस्था कडा पार्न आयोगले स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्