इरान-अमेरिका आणविक वार्ता असफल: १५ देशद्वारा इरान छोड्न आफ्ना नागरिकलाई निर्देशन, हवाई क्षेत्र समेत प्रभावित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इरान-अमेरिका आणविक वार्ता असफल: १५ देशद्वारा इरान छोड्न आफ्ना नागरिकलाई निर्देशन, हवाई क्षेत्र समेत प्रभावित



काठमाडाैं । इरानको आणविक र मिसाइल कार्यक्रमका बारेमा जेनेभामा भएको पाँचौं चरणको वार्ता कुनै ठोस सम्झौता बिना नै टुङ्गिएपछि मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको नतिजाप्रति आफू “खुसी नभएको” बताउँदै इरानले अमेरिकाले राखेका सर्तहरू नमानेकोमा कडा असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै इरानको युरेनियम संवर्द्धन कार्यलाई ‘असभ्य’ संज्ञा दिएका छन्।

इरानसँग कुनै पनि प्रकारको संवर्द्धन क्षमता हुनु नहुने अडान दोहोर्‍याउँदै उनले भने, “मलाई सैन्य बल प्रयोग गर्न मन छैन, तर कहिलेकाहीँ तपाईंले त्यसो गर्नैपर्ने हुन्छ।”

बिहीबार (फेब्रुअरी २७) सम्पन्न वार्तामा युरेनियम संवर्द्धन, अन्तर्राष्ट्रिय निरीक्षण संयन्त्र र इरानको मौज्दात भण्डारणको भविष्यका बारेमा गम्भीर राजनीतिक गतिरोध कायमै रहेको कूटनीतिज्ञहरूले बताएका छन्।

बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा सन् २००३ को इराक आक्रमणपछिकै सबैभन्दा ठूलो सैन्य परिचालन गरेको छ। यस क्षेत्रमा अतिरिक्त विमान वाहक जहाजहरू, शक्तिशाली युद्धपोतहरू र स्ट्राइक एयरक्राफ्टहरू तैनाथ गरिएका छन्। यस सैन्य तयारीले इरानी आणविक केन्द्रहरूमा कुनै पनि बेला आक्रमण हुन सक्ने र त्यसले क्षेत्रीय युद्धको रूप लिन सक्ने डर पैदा गरेको छ।

युद्धको यो बढ्दो जोखिमलाई मध्यनजर गर्दै अमेरिका, बेलायत, चीन, भारत, क्यानडा, इटाली र अस्ट्रेलिया लगायत १५ भन्दा बढी देशहरूले आफ्ना नागरिकहरूलाई तुरुन्त इरान छोड्न ‘ट्राभल एडभाइजरी’ जारी गरेका छन्। बेलायतले तेहरानस्थित आफ्नो दूतावासबाट कर्मचारीहरू फिर्ता बोलाइसकेको छ भने जर्मनी र फ्रान्सले इजरायल भ्रमण नगर्न चेतावनी दिएका छन्।

अमेरिकाले इजरायलस्थित आफ्ना गैर-अत्यावश्यक कर्मचारी र उनीहरूका परिवारलाई व्यावसायिक उडानहरू उपलब्ध भएसम्म देश छोड्न अनुमति दिएको छ।

तनावको प्रत्यक्ष असर हवाई क्षेत्रमा पनि देखिएको छ। इस्तानबुल विमानस्थलबाट तेहरानका लागि हुने प्रमुख उडानहरू रद्द गरिएका छन्। धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले इरानी आकाश प्रयोग गर्न बन्द गरेका छन् वा आफ्ना मार्गहरू परिवर्तन गरेका छन्।

यसले गर्दा क्षेत्रीय आवतजावतमा ठूलो अवरोध सिर्जना भएको छ भने यात्रुहरूमाझ अन्योल बढेको छ। आगामी हप्ता भियनामा प्राविधिक स्तरको छलफल हुने भनिए पनि ट्रम्पको पछिल्लो चेतावनीले कूटनीतिक समाधानको आशा क्षीण बन्दै गएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्