मध्यपूर्वमा युद्धको बिगुल: अमेरिका र इजरायलद्वारा इरानमाथि भीषण संयुक्त सैन्य आक्रमण
काठमाडाैं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेका छन्। राजधानी तेहरानसहित देशका विभिन्न भागमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्।
इरानको फार्स न्युज एजेन्सीका अनुसार तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा धेरै मिसाइलहरू प्रहार भएका छन् भने सहरका विभिन्न भागबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ। तस्निम न्युज एजेन्सीले तेहरानको उत्तरी क्षेत्र सैयद खन्दान र पश्चिमी प्रान्त इलममा पनि आक्रमण भएको पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संयुक्त आक्रमणको उद्देश्य इरानी शासनबाट उत्पन्न आसन्न खतराहरूलाई समाप्त पार्नु रहेको बताएका छन्। उनले अमेरिकी जनताको रक्षाका लागि इरानमा ठुलो सैन्य कारबाही सुरु गरिएको घोषणा गरे।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस कदमलाई अस्तित्वमाथिको खतरा हटाउने प्रयास भन्दै प्रशंसा गरेका छन्। उनले यस संयुक्त कार्यले इरानी जनतालाई आफ्नो भाग्य आफ्नै हातमा लिने परिस्थिति सिर्जना गर्ने दाबी गरे।
जवाफमा इरानले कडा र विनाशकारी बदला लिने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले मध्यपूर्वमा रहेका सबै अमेरिकी र इजरायली सम्पत्तिहरू अब वैधानिक निशाना बन्ने बताएका छन्।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिकै पनि आक्रमण भएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैबीच, इजरायलको उत्तरी क्षेत्र, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा पनि विष्फोटका खबरहरू आएका छन्।
बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी मिसाइल प्रहार भएको बताइएको छ।
युद्धको बढ्दो जोखिमका कारण कतार, कुवेत, युएई र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। इजरायलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ भने कतारस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी र नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको छ।
विज्ञहरूका अनुसार यो आक्रमण अमेरिका र इरानबीच भइरहेको वार्तालाई बिथोल्ने उद्देश्यले गरिएको देखिन्छ।













