युएई, कुवेत, कतारलगायत खाडी मुलुकका अमेरिकी अड्डाहरूमा मिसाइलकाे वर्षा
काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठुलो सैन्य आक्रमण सुरु गरेसँगै मध्यपूर्वमा भीषण युद्धको अवस्था सिर्जना भएको छ। राजधानी तेहरानसहित इरानका विभिन्न प्रान्तहरूमा शक्तिशाली मिसाइल प्रहार भएका छन्।
इरानले पनि जवाफी कारबाही स्वरूप इजरायल र वरपरका खाडी मुलुकहरूका अमेरिकी सैन्य बेसमा मिसाइलको वर्षा गरेको छ। जसका कारण यो द्वन्द्व इरान र इजरायलमा मात्र सीमित नभई क्षेत्रीय स्तरमा फैलिएको छ।
आक्रमणको चपेटामा इरान बाहेक अन्य छिमेकी राष्ट्रहरू पनि परेका छन्। इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलका कारण संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भएको विष्फोटमा १ जनाको मृत्यु भएको छ।
यस्तै, कुवेत र साउदी अरबको राजधानी रियाद नजिक पनि शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। इराकमा रहेको अमेरिकी सैन्य बेसमा भएको आक्रमणमा २ जनाको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
तनाव बढ्दै जाँदा बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालय र कतारको आकाशमा पनि धेरै मिसाइलहरू इन्टरसेप्ट गरिएका छन्। इरानले ती देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी हमला तीव्र पारेपछि सुरक्षा खतरालाई ध्यानमा राख्दै इराक, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुले सैन्य कारबाही जारी रहने बताएका छन् भने इरानले अझै ‘विनाशकारी’ प्रत्याक्रमणको चेतावनी दिएको छ।













